शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

  • शुक्रबार, कार्तिक २३, २०८१
काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो । विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ ।

गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला वर्षा पनि हुने भएकाले अहिले कात्तिक महिनादेखि नै विमानस्थल स्तरोन्नतीको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । इन्जिनियर अधिकारीका अनुसार रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको हो ।

प्राधिकरणका अनुसार तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् । विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् ।

त्रिभुवन विमानस्थलको एक मात्र धावनमार्गको दुवै बिन्दुमा भइरहेको निर्माण कार्यका कारण गत चैत १९ देखि बौद्धतर्फको उत्तरी बिन्दुबाट जहाज अवतरणमा निषेध गरिएको छ । काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले पनि आफ्नो निर्धारित उडान तालिका परिमार्जन गरेका छन् । स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने विश्वास छ ।

चर्चामा

सम्बन्धित समाचार