सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • फुटबल
  • बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई

बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई

  • आइतवार, कार्तिक ११, २०८१
बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई

विराटनगर– मोरङको बेलबारीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ।

मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा सलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि कब्जा गरेको हो। उपाधिसँगै झापा ११ ले ८ लाख नगदसहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ। त्यस्तै, उपविजेता सलहेसले ४ लाख नगदसहित ट्रफी प्राप्त गरेको छ।

टाइब्रेकरमा झापाका दिनेश उराउ, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे। सहलेसका राम थापा, आदित्य शाक्य र विप्लव गुरुङको प्रहारले मात्रै पोस्टको दिशा लिएको थियो। समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बूले विफल पारेपछि सहलेस उपाधिविहीन बन्न पुग्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५० औं मिनेटमा सलहेसका अजयी मार्टिनले हेडिङमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, त्यसलाई जोगाइराख्न नसक्दा सहलेस उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

७१ औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो। फाइनल खेलको म्यान अफ दी म्याच झापाका अभिषेक गुरुङ घोषित भए। उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे। त्यस्तै, झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, देवेन्द्र तामाङ सर्वोत्कृष्ट खेलाडी र सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए। तामाङले १० हजार नगदसहित ट्रफी र अरु खेलाडीले जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे।

सहलेसका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे। उनले प्रतियोगिता अवधिभर ५ गोल गरेका थिए। उत्कृष्ट फरवार्ड सलहेसका समीर तामाङले ७ हजार नगद र ट्रफी प्राप्त गरे। विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

एलएक्स सिटी फुटवल क्लब बेलबारी–११ ले कात्तिक २ गतेदेखि आयोजना गरेको थियो। बेलबारी गोल्डकपमा पहिलोपटक १० वटा टिमले भाग लिएका थिए।

चर्चामा

सम्बन्धित समाचार