सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • समाचार
  • ११ दिनमा अवकाश हुन लागेकी राणा एआईजीमा बढुवा सिफारिस

११ दिनमा अवकाश हुन लागेकी राणा एआईजीमा बढुवा सिफारिस

  • सोमवार, कार्तिक ५, २०८१
११ दिनमा अवकाश हुन लागेकी राणा एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरिएको छ । आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण कार्तिक १५ मा अवकाशमा जान लागेकी छन् । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् ।

अतिरिक्त महानिरीक्षकको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ । तर, बढुवा सिफारिस सदर भए पनि उनको अवकाश रोकिँदैन । कांग्रेस नेता ज्ञानेन्द्र कार्कीकी नातेदार राणालाई विशिष्ट श्रेणीबाट अवकाश हुने गरी बढुवा सिफारिस गरिएको जानकारहरू बताउँछन् । विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुन्छन् ।

यसअघि पनि शक्ति र सत्ताको नजिक हुनेहरूलाई अवकाशको मुखमा बढुवा दिएर पठाइने गरेको प्रचलन छ । रवि लामिछाने उप प्रधान एवं गृहमन्त्री हुँदा डीआईजी पोषराज पोखरेललाई उनकै जोडबलमा बढुवा सिफारिस गरिएको थियो । तर, नेकपा (एमाले)ले समर्थन फिर्ता लिएका कारण सरकार ढलेपछि पोखरेलको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर भएन । उनी डीआईजीमै अवकाश भए ।

Kiran Rana 6.5 (2081)

चर्चामा

सम्बन्धित समाचार