देशकै उत्कृष्ट अर्थशास्त्रीको नाम लिँदा आउने नाम हो- स्वर्णिम वाग्ले । बुढानीलकण्ठ स्कुलको विद्यालय जीवन, लन्डन स्कुल अफ इकोनोमिक्सको स्नातक, हार्डवर्ड युनिभर्सिटीको स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीको पीएचडी मात्रै होइन विश्व बैंक, युएनडीपी र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भएर काम गरिसकेका उनी तनहुँबाट प्रत्यक्ष रूपमा निर्वाचित सांसद समेत हुन् । हेर्दा लाग्छ, उनलाई नआउने केही पनि छैन ।
तर, नेपालको राष्ट्रिय गान र आम मान्छेलाई पनि थाहा हुने विषयमा उनी कति कमजोर रहेछन् भन्ने चाहिँ उनैले पोस्ट गरेको एउटा भिडियो फुटेजमा देखिएको छ । रास्वपाकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग गरेको संवादमा उनले नेपालको राष्ट्रिय गान लेख्ने कवि व्याकुल माइलालाई राष्ट्रकवि भनेका छन्, जबकि राष्ट्रकविको पदवी माधवप्रसाद घिमिरेलाई दिइएको छ भने व्याकुल माइलाले कुनै त्यस्तो पदवी पाएका छैनन् ।
त्यस्तै, राष्ट्रिय गानमा संगीत भर्ने व्यक्तिको नाम गोपाल योञ्जन भनेका छन् । जबकि नेपालको अहिलेको राष्ट्रिय गानको संगीतकार भने अम्बर गुरुङ हुन् । गोपाल योञ्जनको निधन २०५४ सालताका नै भएको हो । त्यो बेलासम्म ‘श्रीमान् गम्भीर नेपाली…..’ नै प्रचलनमा थियो जसको लेखक चक्रपाणी चालिसे र संगीतकार बखतबहादुर* (*नाम सच्याइएको) बुढापीर्थी थिए ।
उक्त संवादमा संवादमा पूर्वमन्त्री श्रेष्ठले सोधेकी थिइन्, ‘तपाईँले नेशनल एन्थम (राष्ट्रिय गान) कहिले सिक्नुभयो ?’ जवाफमा वाग्ले भन्छन्, ‘हाम्रो व्याकुल हो कि के कविजी … राष्ट्रकवि…. उहाँ भनेपछि आई वाज भेरि क्युरियस…. एउटा जनजाति पृष्ठभूमिको कविले ….. एकदमै चैँ…. नेपालको राष्ट्रिय गीत गाएर… गोपाल योञ्जनले म्युजिक भर्नुभएको भनेर न्युज पढेपछि गुगल गरेर सोधखोज गरेको याद छ मलाइ ।’
राताेपाटीबाट