शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • समाचार
  • दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैन

दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैन

  • शुक्रबार, अशोज १८, २०८१
दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको जनाएको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । बीपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डको धेरै ठाउँमा सडक बाढीले बगाएका कारण दसैंअघि यो खण्ड सञ्चालनमा ल्याउन गाह्रो हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

‘सार्वजनिक यातायात चलाउन मिल्ने गरी दसैंअघि यो सडक खण्ड बन्ने देखिएन,’ उनले भने, ‘सडक बगेर फसेका गाडीलाई निकाल्ने गरी काम भइरहेको छ ।’ उनले सडक खुलाउने प्रयास भइरहे पनि खुल्ने सम्भावना कम रहेको सुनाए । ‘यात्रुले यो सडकको मात्र भर पर्नु भएन,’ उनले भने, ‘यसको विकल्पमा अरू सडक प्रयोग गर्न अनुरोध छ ।’

१ सय ६० किलोमिटर लामो बीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडक खण्डको विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । धुलिखेलदेखि खुर्कोट खण्डको १२ किमि सडकमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । सो खण्डमा ५ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्ण क्षति गरेको छ । काभ्रेको चौकीडाँडामा करिब आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । यहाँ पनि काम सुरु भइसकेको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २ सय मिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षति भएको छ । थली बेंसीमा पनि रोशी खोलाले २ सय मिटर र नार्के पुलनजिक २ सय मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ ।

रोशी खोला, सुनकोशीको बाढी तथा पहिरोले क्षतविक्षत भएको यो खण्डअन्तर्गत खुर्कोट–नेपालथोकको ३४ किलोमिटरमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । पहिरो गएका दर्जनौं स्थानमा एकतर्फी सडक खुलेको छ भने सुनकोशीले कटान गरेको ठाउँमा डाइभर्सन बनाइएको छ । लगातार तीन दिनको प्रयासपछि बीपी राजमार्गअन्तर्गत सुनकोशी–१ स्थित नेपालथोकबाट बिहीबार मध्याह्नपछि आँपघारी सडक खुलेको छ । रोशी खोलाको बाढीले नेपालथोक–आँपघारीबीचको बान्द्रेओडारमा २ सय मिटर सडक बगाएको थियो ।

खुर्कोटबाट नेपालथोक हुँदै बालुवासम्मको ३७ किमि धुलिखेलबाट भकुन्डेबेंसी हुँदै चौकीडाँडासम्मको करिब ३५ किलोमिटर गरी ७२ किमि सञ्चालनमा आएको छ । चार वटा मेसिन प्रयोग गरेर रोशी खोला तर्काएपछि किनारबाट अस्थायी डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको हो । अस्थायी सडक सञ्चालनमा आएसँगै आँपघारी र बालुवामा सातादेखि अड्किएका २१ वटा पूर्वतर्फ चल्ने सवारीसाधन नेपालथोक–खुर्कोट भएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालय खाल्टे र सुनकोशी गाउँपालिकाको एक्स्काभेटर, डोजर प्रयोग गरी यस क्षेत्रमा पाँच वटाले काम गरिरहेका छन् । मंगलटार र चौकीडाँडाबीचको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउन सेनालाई समेत परिचालित गरी स्थानीयलाई श्रमदानमा लगाउन सके अझ छिटो काम हुने सडक निर्माणमा जुटेका स्थानीय शान्त तामाङले बताए । बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास सडकको तीन खण्ड सञ्चालनमा रहेको समेत उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार