काठमाडौं--भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गरेको छ ।सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना पेश गरेका हुन् ।
मन्त्रालयद्वारा सार्वजनिक गरिएको ३४ वटा राजमार्गका ८०५ ठाउँ अवरुद्ध भएको छ । तीमध्ये ७७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको छ ।
हालसम्म प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालू गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको साथै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुन:स्थापना गर्न २० देखि २५ अर्ब लाग्ने अनुमान छ ।
प्रकोपले ६ वटा पुलमा पनि क्षति पुगेको छ । मन्त्रालयले प्रेस मिटमा क्षति पुगेका सडक/पुल खुलाउनेबारे योजना पनि सार्वजनिक गरेको छ ।
५ वटा मुख्य राजमार्गका ३१ स्थान अझै अवरुद्ध छ । पहिरो हटाउनुका साथै कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम्पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।