• होमपेज
  • समाचार
  • वायुसेवा कम्पनीले बुधबारसम्म हवाई टिकटको अधिकतम मूल्य नलिने

वायुसेवा कम्पनीले बुधबारसम्म हवाई टिकटको अधिकतम मूल्य नलिने

  • आइतवार, अशोज १३, २०८१
वायुसेवा कम्पनीले बुधबारसम्म हवाई टिकटको अधिकतम मूल्य नलिने

काठमाडौं– विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो ।

सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मंगलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए ।

उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ ।

हवाई भाडा महँगो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए ।

हवाई भाडादर बढी लिएको चर्को आलोचना भए पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि विपद्को अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरूलाई आग्रह गरेको जनाएको छ । ‘कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ’, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप भएकाले हवाई भाडा बढेको हुनसक्ने उनको भनाइ छ । “एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरूले भाडा निर्धारण गर्ने चलन छ’, उनले भने ।

हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एक मात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वाभाविक रूपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।

चर्चामा

सम्बन्धित समाचार