शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • आइतवारबाट बाजुरामा सुपथ मूल्य पसल सञ्चालन हुने

आइतवारबाट बाजुरामा सुपथ मूल्य पसल सञ्चालन हुने

चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट

  • शुक्रबार, अशोज ४, २०८१
आइतवारबाट बाजुरामा सुपथ मूल्य पसल सञ्चालन हुने

टेक बहादुर बुढा— बाजुरामा आइतवारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको छ । सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि बाजुरामा भने तयारी नपुगेको भन्दै केहि ढिलाई भएको हो ।

यस बर्ष असोज ६ अर्थात आइतवारदेखि एकसाथ बाजुराका दुई स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मार्तडीले जनाएको छ । खाद्य संस्थानका प्रमुख उमेश भण्डारीका अनुसार यस बर्ष मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालन गरिने भएको छ ।

सरकारले देशभर एकसाथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि ७ गतेभित्र अनिवार्य सञ्चालन गरिसक्नुपर्ने निर्देशन भएकाले केहि तयारी नपुगेकाले जिल्लामा आइतवारदेखि सञ्चालन हुने कार्यालय प्रमुख भण्डारीले बडिमालिका खवरलाई बताए ।जिल्लाका खाद्य संस्थानमा विभिन्न प्रकारका चामल मात्रै बिक्रीवितरण हुने हुँदा सुपथ मूल्य पसलमा पनि चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने उनले बताए ।

केहि रुपैयाँ सस्तोको नाममा हुन सक्ने अनियमितता रोक्न सुपथ मूल्य पसलबाट चामल खरिद गर्दा सम्बन्धित व्यक्तिको नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य गरिने कार्यालयले जनाएको छ । सो पसलमा अहिले तत्काल चामल मात्रै बिक्रीवितरण हुने र अन्य खाद्य वस्तु, स्थानीय बाली खरिद गर्न पालिकाहरुसँग समन्वय भइरहेको जनाएको छ ।

हाल मार्तडीमा सोना मोटा, अरुवा मोटा र जिरा मसिनो चामल गरी ४ हजार ५२ क्विन्टल र कोल्टीमा २ हजार ३ सय २३ क्विन्टल मौजाद रहेको छ ।  जिल्लामा अहिले सोना मोटा चामलको प्रतिकिलो ६५ रुपैयाँ, अरुवा मोटा ६४ र जिरा मसिनो ९२ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । सुपथ पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएका छन् ।

सरकारले हरेक बर्ष बजार वस्तुहरु अभाव हुन नदिन र नागरिकलाई केहि सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार