• होमपेज
  • समाचार
  • राष्ट्रपति र उपराष्ट्रपतिद्धारा संविधान दिवसको शुभकामना

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा संविधान दिवसको शुभकामना

  • बिहिबार, अशोज ३, २०८१
राष्ट्रपति र उपराष्ट्रपतिद्धारा संविधान दिवसको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसको शभकामना दिएका छन् । दिवसका अवसरमा आज बिहान उनीहरूले वक्तव्य जारी गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका हुन् । शुभकामना संदेश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताए ।

उनले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गरेका छन् । संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको बताएका छन् ।

संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, बचन र कर्मले समर्पित भई आ–आफ्ना तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न पनि राष्ट्रपति पौडेलले आह्वान गरेका छन् । उपराष्ट्रपति यादवले पनि शुभकामना दिंदै संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना गर्न नहुनेमा उनको जोड छ । नेपाली जनताको सङ्घर्ष र बलिदानपछि स्थापित संविधानसभाबाट विसं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ ।

चर्चामा

सम्बन्धित समाचार