• होमपेज
  • बडिमालिका
  • बाजुरामा आजबाट अनन्ते मेला सुरु

बाजुरामा आजबाट अनन्ते मेला सुरु

  • बुधबार, अशोज २, २०८१
बाजुरामा आजबाट अनन्ते मेला सुरु
फाइल तस्विर

बाजुरा–  आजबाट बाजुरा सदरमुकाम मार्तडीमा अनन्ते मेला सुरु हुने भएकाे छ । बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज  २ अर्थात  आजदेखि ४ गतेसम्म लाग्ने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकैकाे अनन्त्या गणामा  लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले ३ दिनसम्म रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् ।

जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको बेलादेखि नेपालमा यस अनन्ते मेलाको सुरुवात भएको र अंग्रेजहरुले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्यहोस् भनेर अनन्ते मेला पर्व मनाउने चलन रहेको स्थानीयले बताउने गरेका छन् । यो पर्व मनाएपछि आफूले सोचेका मनोकांक्षा पूरा हुने स्थानीयहरुको जन विश्वास रहदै आएको छ । यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गरिन्छ ।

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधीभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगाएत एक दर्जन बढी क्षेत्र ३ देखि ४ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

पुरुषको पर्वका रुपमा चिनिने अनन्ते मेलामा पुरुषहरु गोल घेरामा लाम लागि हातमा काँसाका धातुबाट निर्मित मीजुरा बजाएर दुई पट्टिले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्ने गर्दछन् । मेला अवधी भर स्थानीयले कुले देवता कैलाश र मष्टाको पूजा आजा गर्ने र पारिवारीक खुसी, दिर्घायु र सुख शान्तिका लागि कामना गर्ने गर्दछन् ।

अनन्ते मेलालाई व्यवस्थित बनाउनका लागि बडीमालिका नगरपालिकाले यस वर्ष साँझ–९ बजे सम्म मात्र मेला मनाउन दिने निणर्य गरेको छ । मेलालाई भव्य बनाउन मेला अवधिवर जाँड रक्सि जस्ता मादक पदार्थ, लागु पदार्थ विक्री वितरण एवंम सेवन गर्न निषेध गरिने भएको छ ।

मेलालाई सुव्यवस्थित ढंगले संचालन गर्नका लागि बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा संयोजक, ९ का अध्यक्ष सुर्यकिरण विक सहसंयोजक रहने गरि ११ सदस्यीय मेला व्यवस्थान समिति समेत बनाईएको उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । त्यस्तै मेला अवधिभर मार्तडी बजार आसपास क्षेत्रमा मदिरा उत्पादन, विक्रि वितरण, ओसारपसार र सेवन गर्न पूर्ण रुपमा निषेद गरिने र मदिरा उत्पादन विक्रि वितरण, ओसार पसार गर्नेलाई ५ हजार र सेवन गर्नेलाई ३ हजार जरिवाना गर्ने निर्णय गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार