• होमपेज
  • समाचार
  • कानुन मिचेर कर्मचारीको सरुवा नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

कानुन मिचेर कर्मचारीको सरुवा नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

  • शनिबार, भदौ २९, २०८१
कानुन मिचेर कर्मचारीको सरुवा नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ— प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासनका कर्मचारीले लिएको तलव जथाभावी सरुवा गर्ने र काजमा राख्ने अधिकारीबाटै असुल्ने चेतावनी दिएको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार संघीय मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई पत्र पठाएर संघीय निजामती ऐनमा उल्लेख भएका प्रावधान मिचेर सरुवा नगर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले संघीय मन्त्रालयले गर्दै आएको कर्मचारीको सरुवा, पदस्थापना, काजलगायतका गतिविधिप्रति असन्तुष्टि जनाउँदै यस्तो पत्राचार गरेको हो । प्रधानमन्त्री कार्यालयले निजामती ऐन २०४९, नियमावली २०५० का प्रावधानहरु स्मरण गराउँदै जथाभावी सरुवा गरेमा नियमविपरीत सरुवा वा काजमा बसेका कर्मचारीको तलव सरुवा गर्ने अधिकारीबाट असुल्ने चेतावनी दिएको छ । निजामती ऐनमा सम्बन्धित अधिकारीबाटै तलबभत्ता असुल्ने व्यवस्था रहेको छ ।

संघीय मन्त्रालयले संघीय कार्यालयको विभाग, मन्त्रालय र कार्यालयहरुमा दरबन्दी भन्दा बढी कर्मचारी सरुवा गर्ने तर प्रदेश र स्थानीय तहमा पठाउन धेरै पहल नगर्ने प्रवृत्ति बढेपछि लिखित निर्देशन नै दिनुपरेको हो । केही दिन अघि मुख्यसचिव एकनारायण अर्यालले संघीय मन्त्रालयले कर्मचारीको व्यवस्थापन सही रुपमा नगर्दा सेवा प्रवाहमा असर परेको भन्दै सचिवहरुसॅग असन्तुष्टि राखेका थिए ।

उनले सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । अर्याल संघीय मन्त्रालयका पूर्व सचिव पनि हुन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा जनशक्ति व्यवस्थापन महाशाखमा सहसचिव प्रेमप्रसाद आचार्यले सरुवामा केही बेथिति देखिएकाले निर्देशनात्मक पत्राचार गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार