शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • एक वर्षको जेल सजाय पाएका कांग्रेस सांसद केसी एक दिनमै रिहा, कैदको साटो रकम तिरेपछि उन्मुक्ति

एक वर्षको जेल सजाय पाएका कांग्रेस सांसद केसी एक दिनमै रिहा, कैदको साटो रकम तिरेपछि उन्मुक्ति

  • सोमवार, भदौ २४, २०८१
सेयर गर्नुहोस् :
एक वर्षको जेल सजाय पाएका कांग्रेस सांसद केसी एक दिनमै रिहा, कैदको साटो रकम तिरेपछि उन्मुक्ति

रुपन्देही — लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी एकै दिनमा रिहा भएका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । आइतबार अदालतमा आत्मसमर्पण गरेका उनी कारागार पठाइएपनि भित्र नबसी बाहिरै बसेका थिए ।

रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए । कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित भएका थिए ।

उनले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन् ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजाले जानकारी दिए । स्रोतका अनुसार उनलाई आइतबार राति कारगारमा राखिएको थिएन ।

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए ।

उनी कारागार चलान भएको पत्र नै प्रदेश सभामा नआउँदै उनी रिहा भएका हुन् । प्रदेश सभा सचिवालयले यसबारै कुनै औपचारिक जानकारी नआएको जनाएको छ ।

प्रदेश सभा सचिवले सांसद केसी पक्राउ परेको, कारागार चलान भएको, छुटेको केही जानकारी नै नभएको नेपाल प्रेसलाई बताए । ‘खै हामीले समाचार पढेर हेरेर थाहा पाएका छौं, औपचारिक केही जानकारी छैन’, उनले भने ।

चर्चामा

सम्बन्धित समाचार