• होमपेज
  • कर्णाली प्रदेश
  • प्रधानमन्त्री जुम्ला नगएपछि चिकित्सा शिक्षाको दीक्षान्त स्थगित

प्रधानमन्त्री जुम्ला नगएपछि चिकित्सा शिक्षाको दीक्षान्त स्थगित

  • सोमवार, भदौ २४, २०८१
प्रधानमन्त्री जुम्ला नगएपछि चिकित्सा शिक्षाको दीक्षान्त स्थगित

जुम्ला— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आफू उपस्थित हुन नसक्ने सन्देश दिएपछि आइतबार हुने भनिएको पहिलो दीक्षान्त समारोह सरेको छ । सम्पूर्ण तयारी सकेर आइतबार प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई स्वागत गर्न तयार रहेका प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलाई ओलीले आकस्मिक परिस्थितिका कारण आफू आउन नसक्ने खबर शनिबार राति अबेर दिएका थिए ।

प्रधानमन्त्री ओलीसँगको छलफल पछि उपकुलपति डा. रावलले प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह कात्तिक २८ का लागि सारेका छन् । ‘मलाई प्रधानमन्त्रीज्यूले आफैंले फोन गरेर केही आकस्मिक काम परेकाले आउन नमिल्ने बताउनुभयो, त्यसपछि अर्को मिति तय गरेका छौं,’ रावलले भने, ‘दीक्षान्त समारोहबाहेक यहाँ अन्य कार्यक्रम पनि तय गरिएका थिए, त्यो भने सञ्चालन गर्‍यौं ।’

शिक्षाध्यक्ष डबलबहादुर धामीका अनुसार ५६ जना विद्यार्थी दीक्षित हुँदै थिए । ब्याचलर इन पब्लिक हेल्थका ३८, मिडवाइफ्रिका १५ र चिकित्सा शिक्षामा स्नातकोत्तर (एमडी) गरेका ५ विद्यार्थी थिए । दीक्षित हुने विद्यार्थीबाट प्रतिविद्यार्थी ८ हजार रुपैयाँ शुल्क लिइएको थियो । त्यसमध्ये ४ हजार रुपैयाँ भने दीक्षित भइसकेपछि फिर्ता गर्ने भनिएको थियो । प्रतिष्ठानले एक महिनादेखि नै समारोहको प्रचार गरेको थियो । तर मध्यराति कार्यक्रम स्थगित भएको सूचना जारी भएपछि कार्यक्रममा सहभागी हुन आएकाहरू अलमलमा परेका थिए ।

समारोह स्थगित भएपछि जुम्ला पुगेका अतिथि, विद्यार्थी र अभिभावक निराश भएर फर्किएका छन् । दीक्षित हुन अभिभावक लिएर आएका केही विद्यार्थी अकस्मात् कार्यक्रम सरेका कारण आक्रोशित देखिन्थे । कार्यक्रममा सहभागी हुन प्रतिनिधिसभाका सदस्य, अन्य स्वास्थ्य प्रतिष्ठानका व्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख शनिबार नै जुम्ला आइपुगेका थिए ।

दीक्षान्त सामारोह स्थगित गरे पनि प्रतिष्ठानले वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइतलाई प्रमुख अतिथि बनाएर नेत्र विभागको उद्घाटन गरेको थियो । उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य आरपी बिच्छालगायत सहभागी थिए ।

प्रतिनिधिसभा सदस्यद्वय कान्तिका सेजुवाल र ज्ञानेन्द्र शाही दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंदेखि जुम्ला पुगेका थिए । सांसद शाहीले शनिबार बोलाएर आइतबार कार्यक्रम स्थगित गर्ने परिपाटी ठीक नभएको बताए । ‘कि कार्यक्रम आयोजना नगर्नु, गरेपछि परिपक्व गर्नु,’ उनले भने, ‘यतिका मान्छे भेला गर्न पत्राचार गरेर बिचल्ली पारियो, दर्जनौं विद्यार्थीको भावनामा ठेस पुगेको छ ।’

सांसद सेजुवालले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली व्यस्तताका कारण आउन नपाए पनि सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई पठाएर कार्यक्रम नरोक्नुपर्ने बताइन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि आवाज उठाउँदै आएकी सेजुवालले भनिन्, ‘मध्यरात कार्यक्रम रोकिएर प्रतिष्ठानको प्रतिष्ठामा आँच आउने काम गरियो । प्रधानमन्त्रीले नै दीक्षित गराउनुपर्छ भन्ने छैन, सम्बन्धित निकायले दीक्षित गराउँदा फरक पर्दैन ।’

दीक्षित हुन जुम्ला पुगेका सुर्खेतका सुशील शाहीले कार्यक्रममा बोलाउने र स्थगित गर्ने कामले दुःख पाएको बताए । ‘वर्षात्को समयमा पहिरो पन्छाउँदै जुम्ला पुगियो, आइसकेपछि कार्यक्रम स्थगित भयो,’ उनले भने, ‘हचुवाका भरमा मिति तोकियो, हचुवाकै भरमा स्थगित गरियो । बिनाकारण झन्डै २ महिनापछि अर्को मिति तोकियो ।’ उनका अनुसार कतिपय विद्यार्थी गाडी रिजर्भ गरेर अभिभावकलाई लिएर जुम्ला पुगेका थिए ।

जुम्ला पुगेका दीपेन्द्र जैसीले दीक्षित हुन तयार भएर बसेपछि स्थगित भएको खबरले दुःखी बनाएको बताए । ‘प्रतिष्ठानमा भएको शान्त माहोल देख्दा बोल्ने शब्द नै छैन,’ उनले भने, ‘दीक्षित भएर जाने सपना सपनै रह्यो ।’ दीक्षित हुन डोटी, अछामलगायत कर्णाली प्रदेशबाहिरका विद्यार्थी पनि उपस्थित थिए । दीक्षान्त समारोहकै लागि देशका ६ वटा मेडिकल कलेजका विद्यार्थी पनि जुम्ला पुगेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ५ मै दीक्षान्त समारोहका लागि २३ गते प्रधानमन्त्रीको समय अनुकूल रहेको भन्दै कार्यक्रम गर्न प्रतिष्ठानलाई पत्र पठाएको थियो । सोहीअनुसार प्रतिष्ठानले तयारी गरेको थियो । प्रतिष्ठानका एक चिकित्सकले अथक मिहिनेत गरेको तयारी खेर गएको बताए । ‘राति ११ बजेसम्म पनि काम गरिरहेका थियौं, उत्साह थियो,’ उनले भने, ‘एक्कासि प्रधानमन्त्री नआउने खबर पाएपछि बालुवामा पानी हालेको जस्तो भयो ।’

प्रतिष्ठानका पूर्वरजिस्ट्रार विश्वराज काफ्लेले कार्यक्रम तयारीमा लागेको खर्चका कारण व्यायभार बढेको बताए । ‘अहिले प्रधानमन्त्री आउने निश्चित थिएन भने यो खर्चले अरू काम गर्न सकिन्थ्यो,’ उनले भने, ‘कर्णालीलाई हेर्ने नजर कमजोर भयो । ६ सयभन्दा बढीलाई खाजा र २५० लाई खानाको व्यवस्थापन गर्न भनिएको थियो । तयारी खाना सबै खेर गयो ।’

चर्चामा

सम्बन्धित समाचार