• होमपेज
  • समाज
  • मार्तडीमा चामल भण्डारणमा समस्या, विक्री केन्द्र रित्तै

मार्तडीमा चामल भण्डारणमा समस्या, विक्री केन्द्र रित्तै

  • मङ्लबार, भदौ १८, २०८१
मार्तडीमा चामल भण्डारणमा समस्या, विक्री केन्द्र रित्तै

पदम बहादुर सिंह —गत बर्षको भदौ देखी माघ महिनासम्म बाजुराका सबै खाद्य व्यवस्था तथा व्यापार कम्पनी, डिपो, अस्थायी विक्री केन्द्रहरुमा ताला लाग्यो । आर्थिक बर्ष २०८९/०८० को मौज्जुदा चामल १ सय ६६ क्विन्टल विक्री भएर सकिएपछि कम्पनी तथा डिपो र विक्री केन्द्रमा ताला लगाएको थियो ।

चामल नभएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र डिपोमा ताला लागेको विभिन्न संचार माध्याम तथा जनस्तरबाट आवाज उठेपछि असोज महिनामा ५ सय ६० क्विन्टल जिरा मसिनो चामल आयो । बजारको मसिनो चामल भन्दा महंगो भएकोले खाद्य कम्पनीमा आएको चामल विक्रि भएन । खाद्य कम्पनीले दशैको अवसरमा सहुलियतमा चामल विक्रि गर्दा पनि बजारको भन्दा महंगो भयो ।

मोटो चामल किन नआएको भन्दा चामल ढुवानी टेण्डर प्रकृयामा रहेको र भारतले चामल नदिएका कारण चामल नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीले भन्दै आएका थिए । बाजुरामा मंसिर देखी चैत्र महिनासम्म खाद्यन्न बढी अभाव हुन्छ । त्यो समयमा चामल न्यून मात्रमा आयो । जस्तो माघ महिनामा ३ सय क्विन्टल, फागुनमा ७ सय ६५ क्विन्टल, चैत्रमा ५ सय २५ क्विन्टल चामल आएको थियो । सो समयमा समयमा आएको चामल जिल्लाका लागि अपुग थियो ।

त्यस्तै बैशाखमा ८ सय ६५ क्विन्टल जेठमा ८ सय क्विन्टल र असार महिनामा ३ सय १२ क्विन्टल मोटा १ हजार ९ सय ८५ क्विन्टल सोना मन्सुरी र १ सय ८० क्विन्टल जिरा मसिनो चामल आएको छ । बैशाख महिनामा बाजुराको तल्लो क्षेत्रमा गँहु पाकी सकेको र जेठ महिनासम्म जिल्ला भरिनै गँहु पाकी सकेकोले बैशाख देखी असार महिनासम्म आएको चामल कम बिक्रि भयो ।

बाजुरा जिल्ला सदरमुकाम र कोल्टी खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हिमाली गाउपालिकाको कुवाडी डिपो र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोटमा अस्थायी बिक्रि केन्द्र स्थापना गरिएको छ । कुवाडी डिपो र मुक्तिकोट बिक्रि केन्द्रमा बैशाख अन्तिम देखी चामल पुगेको छैन् ।

आर्थिक बर्ष २०८०/०८१ मा मार्तडीमा ७ हजार क्विन्टल, कोल्टीमा ६ हजार ५ सय क्विन्टल, कुवाडी डिपोमा २ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल कोटा स्विकृत भएको थियो । जस्मा कुवाडीमा २ सय क्विन्टल फागुनमा र १ हजार ७० क्विन्टल बैशाखमा गएको थियो भने मुक्तिकोटमा २०८० जेठ महिनामा ५ सय क्विन्टल गएको थियो । उक्त ५ सय क्विन्टल बैशाखको अन्तिममा गएको थियो । कुवाडी डिपो र मुक्तिकोट डिपोमा बैशाख महिनाको अन्तिम देखि चामल अभाव रहेको छ भने मार्तडीमा ४ हजार ४ सय मौज्जुदा र कोल्टीमा २ हजार मौज्जुदा रहेको छ ।

मार्तडीको मौज्जुदा चामल राख्न खाद्य भण्डार गृह अपुग भएर राख्न समस्या भएको मार्तडी खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख उमेश भण्डारीले बताएका छन् । कुवाडी डिपो र मुक्तिकोट बिक्री केन्द्रमा चामल पठाउन मार्तडी कोल्टि सडक बन्दका कारण समस्या छ । समयमा चामल ढुवानी नहुदा दुर्गमका डिपो र बिक्रि केन्द्र खाली रहेका छन भने सदरमुकाममा चामल भण्डारणको समस्या भएको छ ।

२०५२ सालमा बनेको एक सय मेट्रिकटन र २०३८ सालमा बनेको ५० मेट्रिकटन क्षमता भएका भवनहरु जीणर् बन्दै गएको र क्षमता भन्दा करिब दोब्बर बढी चामल मौज्जुदा रहेकोले समस्या भएको कार्यालयले बताएको छ । बर्षातमा विपद् तथा सडक अवरुद्ध भएर खाद्यान्न अभाव हुन सक्ने भन्दै कोटा थप गरेर प्रशस्त चामल आयात गरिएको उनले बताए । अहिले बर्षातमा विभिन्न पालिका जोड्ने ग्रामिण सडक अवरुद्धका कारणले चामल कम मात्रामा विक्रि भएको हुनसक्ने कार्यालय प्रमुख भण्डारीले बताए । नागरिकले पछिको लागि पहिल्यै खाद्यान्न किन्ने, केन्द्रले खरिदका लागि टेण्डर र ढुवानी प्रकृयामा ढिलाई लगायतका कारणले कहिले चामल अभाव, कहिले किन्नेको भिड लाग्ने अवस्था भएको कार्यालय प्रमुख भण्डारीले बताए ।

बिगतका बर्षमा बर्षातको समयमा साँफे मार्तडी सडक पहिरोका कारण अवरुद्ध हुने भएकाले नागरिकलाई खाद्यन्न अभाव हुन नदिन पूर्व तयारी गरेका कारण प्रशस्त चामल आयात गरिएको कार्यालयले बताएको छ । गत बर्षको हिउँदमा तीन पटकसम्म टेण्डर आह्वान गर्दा पनि नपरेको र प्रदेशबाटै कम चामल आउने गरेकाले नागरिकको माग अनुसार समयमा चामल नआउँदा किन्नेको भिड लागेपछि माघ देखि जेठ महिनासम्ममा साताको आइतबार मात्रै बिक्रि वितरण गर्ने व्यवस्था गरिएको थियो ।

बाजुरामा खाद्यन्न अभाव भएको समय खाद्य कम्पनीमा ताला लाग्यो । बेमौसममा चामल आएपछि चामल भण्डारणमा समस्या भएको छ । गएको असोज कार्तिक महिनामै चामल दुवानी भएको भए हिउदमा नागरिकले बर्षातको लागि चामल किन्थ्ये हिउदमा चामल आएत बर्षात लागेपछि बाटाघाटा भन्द भए पछि चामल बिक्रिमा समेत कमी भएको छ ।

गत बर्षको यहि समयमा चामल सकिएको भन्दै ताला लगाइएकोमा यस बर्ष दैनिक कम्तिमा ५० कट्टासम्म मात्रै बिक्रि हुन्छन । त्यस्तै चालु आर्थिक बर्षका लागि १० हजार क्विन्टल माग गरेको कार्यालयले जनाएको छ । खाद्य कार्यालय मार्तडीमा हाल अरुवा सोना, अरुवा मोटा र जिरा मसिनो चामल बिक्रि वितरण भइरहेको छ ।

कार्यालयका अनुसार चालु आवका लागि मार्तडीमा १० हजार, कुवाडीमा १ हजार, मुक्तिकोटमा ५ सय, पाण्डुसैन बिक्री केन्द्रमा ५ सय र कोल्टीमा ६ हजार ५ सय क्विन्टल चामलको टेण्डर भईसकेको छ । मार्तडी कोल्टि सडक बर्षातले अवरुद्ध भएको कारण सडक खुल्ने बित्तिकै ढुवानी प्रकृया अगाडी बढ्ने कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार