• होमपेज
  • समाज
  • अमेरिका सहित ९ देशले गरे टीआरसी विधेयकको स्वागत

अमेरिका सहित ९ देशले गरे टीआरसी विधेयकको स्वागत

  • बिहिबार, भदौ १३, २०८१
अमेरिका सहित ९ देशले गरे टीआरसी विधेयकको स्वागत

नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा अमेरिका, बेलायत लगायत ९ देश र युरोपियन युनियनले स्वागत गरेका छन् । आइतबार ती देशका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकाेमा स्वागत गरिएको छ ।

हालै बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन नेपालको संघीय संसदको दुवै सदनले पारित गरेका थिए र बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।

अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, जापान, स्विट्जरल्याण्ड, नर्वे, फिनल्याण्ड र युरोपियन युनियनले उक्त विधेयकको स्वागत गर्दै आफूहरु पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने बताएका छन् । ‘निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरुपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ’, संयुक्त वक्तव्यमा भनिएको छ ।

९ देश र युरोपियन युनियनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के-कस्ता आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर रहेको पनि उल्लेख गरेका छन् । ‘नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

images

चर्चामा

सम्बन्धित समाचार