• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जिल्ला अस्पताल बाजुरामा २९ प्रकारका औषधी अभाव

जिल्ला अस्पताल बाजुरामा २९ प्रकारका औषधी अभाव

बजेट व्यवस्थापनमा प्रदेश सरकारको वेवस्ता

  • बिहिबार, भदौ १३, २०८१
जिल्ला अस्पताल बाजुरामा २९ प्रकारका औषधी अभाव

बाजुरा– जिल्ला अस्पताल बाजुरामा (झोल) सिटामोल लगायत २९ प्रकारका निशुल्क पाईने औषधी अभाव भएको छ । प्रदेश सरकारले समयमै बजेट निदिएका कारण बजेट अभावले औषधी अभाव भएको हो । प्रदेश सरकारको बजेट पास नभएको र बजेट अभावका कारण जिल्ला अस्पताल बाजुरामा बिभिन्न प्रकारका २९ प्रकारका औषधी अभाव भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
औषधी खरिदका लागि सरकारले न्यून बजेट दिने र यो बर्षको अहिलेसम्म सुदूरपश्चिम सरकारले बजेट ल्याउने अनिश्चितताले बजेट अभावले खरिद नहुँदा औषधी सकिनै लागेको कुरा अस्पताल स्रोतले स्वीकार गरेको छ । प्रदेश सरकारले हरेक बर्ष अस्पताललाई औषधी खदिरका लागि १० लाख रुपैयाँ मात्रै विनियोजन गरिरहेकाले यतिखेर जिल्ला अस्पतालमा अधिकांश औषधी अभाव भएको जिल्ला अस्पताल बाजुरा सुचना अधिकारी नृपराज गिरीले बताएका छन ।
सदरमुकाम मार्तडीमै रहेको जिल्ला अस्पतालमा अधिकांश औषधी अभाव भएपछि बिरामीले जिल्ला अस्पतालमा चेकजाँच गराएर निजी स्वास्थ्य संस्थाबाट औषधी लिनुपर्ने बाध्यता रहेको अस्पतालका सेवाग्राहीहरुले बताएका छन । अस्पतालमा ठुलो भवन बनेपनि सेवा सुविधा भने राम्रो नभएको र एक्सरे, भिडियो एक्सरे, रगत परिक्षण जस्ता सेवामा चर्को शुल्क लिने गरेको सर्वसाधारणको आरोप छ । जिल्ला अस्पताल बाजुरामा सुविधायुक्त भवन बनेको भए पनि जनशक्ति र औषधीको समस्या हुदै आएको छ । पर्याप्त बजेट व्यवस्थापन गर्न नसक्दा अहिले दिन प्रतिदिन औषधी अभाव हुदै गएको सुचना अधिकारी गिरीले बताएका छन ।
सरकारले ९८ प्रकारका औषधी निःशुल्क गरेपनि बजेट अभावमै निःशुल्क पाइने औषधी पनि अभाव हुन थालेको अस्पतालले जनाएको छ । अहिले बजेट नहुँदा सिटामोल ट्याप्लेट एक लाख बढि भएपनि पारा सिटामोल झाेल अभाव भएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी गिरीले बताएका छन ।
हरेक बर्षको न्युन बजेट र यस बर्ष हालसम्म पनि बजेट विनियोजन नहुँदा निःशुल्क पाईने ९८ मध्ये २९ प्रकारका औषधी अभाव रहेको जिल्ला अस्पतालका सूचना अधिकारी गिरीले बताएका छन् । अस्पतालले तत्काल ल्यावमा लगाएको शुल्कबाट त्यसको केहि औषधी सहित सामग्री खदिर गरिरहे पनि बजेट नहुँदा अन्य कुनै औषधी खरिद गर्ने अवस्था नरहेको सूचना अधिकारी गिरीले बताए । औषधी खरिदका लागि सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न नसक्दा अस्पतालले सधैंका बर्ष यस्तो समस्या खेप्दै आएको उनको भनाई छ ।
अहिले जिल्ला अस्पतालले नवनिर्मित नयाँ भवनबाट सेवा सुरु गरेपछि अस्पतालमा पहिलेको तुलनामा अहिले दोब्बरको संख्याले बिरामीको संख्या बढेको सूचना अधिकारी गिरीले बताए ।
बजेट व्यवस्थापनमा  सरकार मौन
जिल्ला अस्पतालमा पर्याप्त बजेट व्यवस्थापन र सेवा विस्तारमा स्थानीय सरकारसँगै यँहाका सरोकारवालाहरु नै अहिलेसम्म मौन बसेको देखिन्छ । छिमेकी अन्य जिल्ला बाहेक बाजुराका सम्पूणर् पालिकाका नागरिककाे उपचारका लागि जिल्ला अस्पतालमा आउने भएपनि जिल्लाका स्थानीय तहहरुले वेवस्ता गरेको अस्पताल स्रोतको आरोप छ । जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले भने,“यदि साच्चिकै अस्पतालको विकास र यँहाका नागरिककै लागि सुविधा चाहन्छौ भने प्रत्येक पालिकाले हरेक बर्ष एक लाख मात्रै बजेट विनियोजन गर्नुस्, सम्पूण सेवा निःशुल्क गरिदिन्छौ ।” अघि पछि आफ्ना आसेपासेलाई निःशुल्क एम्बुलेन्स सेवा भन्ने जनप्रतिनिधि र जिल्लाका नेतृत्व तहका सरोकारवालाहरु अस्पतालको विकास र समस्याका बारेमा चुइक्क नबोल्ने  गरेको अस्पताल स्रोतको दावि छ । अस्पतालको सेवा विस्तार र आमनागरिकको स्वास्थ्य सेवामा सहजै पहुँच पुर्याउन जिल्लाका नौ वटै पालिका सहित सरोकारवालाहरुले ध्यान दिनुपर्ने देखिन्छ ।
जिल्ला अस्पतालमै जनशक्ति अभाव
जिल्ला अस्पताल बाजुरामा १८ जना कर्मचारीको दरबन्दी भएपनि अहिले मेडिकल अधिकृत, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सहित १० जनाको भरमा सेवा दिदै आएको छ । अस्पतालमा बजेट अभावले पर्याप्त मात्रामा औषधीको व्यवस्था र जनशक्ति व्यवस्थापन गर्न नसकिएको सूचना अधिकारी गिरीले दोहोर्याए । सरकारले जिल्ला अस्पतालमा विशेषज्ञ सेवाका लागि एक जना एमडिजिपी डाक्टर, पर्याप्त बजेट, प्रशासनलाई सुशासन बनाउनका लागि मेडिकल सुपरिटेन्डेनको दरबन्दीका लागि बजेट व्यवस्थापन गर्न अस्पतालले अनुरोध गरेको छ । दैनिक सय बढी बिरामी उपचारका लागि आउने भएकाले सरकारले तत्काल पर्याप्त औषधीका लागि बजेट र थप विशेषज्ञ सेवा सहित जनशक्तिको व्यवस्थापन गर्न सकेमा याँहाका नागरिकलाई राहत हुने स्वास्थ्यकर्मीहरुले विश्वास गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार