• होमपेज
  • बडिमालिका
  • मार्तडी—कोल्टी सडकको सास्तीले यात्रुहरु हैरान

मार्तडी—कोल्टी सडकको सास्तीले यात्रुहरु हैरान

४२ किलोमिटर छिचोल्न ८ घण्टा

  • मङ्लबार, भदौ ११, २०८१
मार्तडी—कोल्टी सडकको सास्तीले यात्रुहरु हैरान

बाजुरा– सदरमुकाम मार्तडी देखि कोल्टीसम्म जम्मा ४२ किलोमिटर सडक छिचोल्न नागरिकहरु हैरान हुने गरेका छन् । बर्षातको समयमा कतै हिडेर त कतै गाडीमा गरि ८ घण्टामा यो बाटो पार गर्नुपर्ने हुन्छ । ३/३ ठाउँ गाडी फेरवदल गर्नुपर्ने बाध्यता यो सडक खण्डमा रहेको छ । मार्तडी देखि कोल्टी सडक ८ घण्टामा पार गर्न सकियो भने आफूलाई यात्रुहरु भाग्यमानी नै ठान्दछन् । कुनै-कुनै दिन पूरै दिन लगाएर कोल्टी देखि मार्तडी पुग्ने गर्छन यात्रीहरू ।

बर्खामा हिलै हिलो, कतिखेर कुन खाल्डोमा परिने हो, उस्तै चिन्ता लाग्ने गरेको कोल्टीबाट मार्तडी पुगेका यात्रुहरु बताउँछन । यस्तो सास्ती व्यहोर्नुपरेको महिना बर्ष होइन सडक निर्माण थालेदेखि नै यात्रीले निकै कष्ट व्यहोर्नु परिरहेको र बर्षातको समयमा झन बढि समस्या झेल्नुपरेको यात्रुहरुहले बताउने गरेका छन् ।

जिल्लाको पुर्वी उत्तर क्षेत्रका नागरिकसंगै हुम्ला र मुगुका जिल्लाको समेत मेरुदण्डको रुपमा रहेको यस सडकको निर्माणले गति नलिँदा नागरिकहरूको दैनिकी समेत कष्टकर बन्दै गएको छ । सडककै दुर्दशाले कोल्टी क्षेत्र र छिमेकी कर्णाली प्रदेशका हुम्ला र मुगुका नागरिकले सास्ती बेहोर्नु परेको नागरिक समाजका अगुवा सर्पलाल गिरी बताउछन् । निर्माण कम्पनीले २०७८ सालमा सम्पन्न गर्नुपर्ने सो सडक पटक पटक म्याद थप गर्दा समेत योजना पूरा हुन नसकेको गिरीको भनाइरहेको छ ।

निर्माण कम्पनीको बदमासीका कारण फेरि थपिएको म्यादमा पनि सडक निर्माण पूरा हुनेमा विश्वस्त नरहेको नागरिक अगुवा गिरीको भनाई रहेको छ । निर्माण कम्पनी र कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण यो सडक आयोजनाले चाहे अनुसार गति लिन नसकेको उनको गुनासो छ ।

मार्तडी कोल्टी सडककै कारण यातायात व्यवसायीहरुले पनि लाखौको क्षेती ब्यहोर्ने गरेका छन । सडक राम्रो नहुदा फोरविल गाडी मात्रै सो सडकमा चल्ने गर्दछन । ‘३० देखी ३५ लाख रुपियाँमा नयाँ जीप खरिद हुन्छ यो सडकमा चलाएको २ महिनामा थोत्रो हुने गरेकाे यातायात ब्यवासायीहरुले बताउदै आएका छन । सडककै कारण यातायात क्षेत्रमा लगानी विस्तार गर्नेहरू समेत निराशा बनेको जीप संचालकहरुको प्रतिक्रिया छ ।

सरकारले मार्तडी कोल्टी सडक निमांणका लागि ३ खण्डमा ठेक्का गरेको छ । प्रदेश सरकारको गौरवको योजना रहेकोले संघिय सरकारले समेत साझेदारीमा ४२ किलोमिटर सडक ३ खण्डमा ठेक्का गरिएकोमा मार्तडी देखी चुथी ९ किलोमिटर सडक ग्राभेल कालोपत्रे भइसकेको पुर्वाधार कार्यालय अछामको दावी छ । ९ किलोमिटर सडकमा करिव ४ किलोमिटर पैदल हिड्नुपर्ने बाध्यता छ ।

मार्तडीबाट सिधै गाडीमा चढेर जान सकिदैन बिचमा बाउली र अनाई खोलामा पुल नहुँदा हिडेरै गाडी हुने ठाउँ पुग्नुपर्ने बाध्यता छ । मार्तडी देखि अनाई करिव साढे ३ किलोमिटर हिड्नुपर्ने हुन्छ । सरकारले बेलैमा बाउली र अनाई खोलामा मात्र मोटरेवल फुल बनाउन सकेको भए ९ किलोमिटर ग्राबेल कालोपत्रे सडकमा नियमित गाडी चलाएर यात्रुलाई सहज हुने जीप व्यवासायीहरुले बताउने गरेका छन् ।

त्यसै गरी करिव ५ सय मिटर जिल्लीको पहिरो छिचोल्नुपर्दा करिव ४ किलोमिटर सडक यात्रुहरु पैदल हिड्छन र बाकि ५ किलोमिटर सडकको जीपभाडा ३ सय रहेको पाईएको छ । यति भाडा किन लिएको भन्दा जीप ब्यवासायीहरुले मार्तडीबाट डिजेल मान्छेलाई बोकाएर लैजानुपर्ने हुँदा भाडा बढि भएको बताउने गरेका छन । त्यसै गरी जिल्लीको पहिरो छिचोलेर पारीबाट अगाडी नै उठाएको भाडाले रजातोलीको खोलासम्म पुगाउँछन ।

रजातोलीको खोलामा मोटेरेवल पुल नहुँदा गाडी पारी जादैन पारीबाट कोल्टीका लागि अर्को गाडी चढ्नुपर्ने हुन्छ । अर्को गाडीमा १ हजार देखी १ हजार ३ सय सम्म भाडा तिर्नुपर्ने हुन्छ । सो गाडी पनि सिधै कोल्टी पुग्दैन करिव २ किलोमिटर सडक पैदल हिडेर मात्रै कोल्टी बजार पुग्न सकिन्छ । मार्तडी देखी कोल्टी सम्म ४२ किलोमिटर सडकमा यात्रुहरुले करिव २ हजार भन्दा बढि भाडा तिर्नुपर्ने बाध्याता रहेको छ भने असहज बाटोले जोखिम पनि रहेको छ ।

सडक बनाउन राज्यका निकायहरूले प्रभावकारी कदम नचाल्दा यसले गति लिन नसकेको स्थानियको गुनासो रहेको छ । बाटो सहज नहुँदा अहिले मार्तडी देखी कोल्टी पुग्न बर्षाको समय ८ घण्टा र हिउदको समया ६ घण्टा लाग्छ । समय मात्र लाग्दैन्, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा गाडी नचिनिने हुन्छन् । यात्रुको स्वास्थ्यमा समेत प्रतिकूल असर गरिरहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।

निर्माणाधीन सडक कालोपत्रे हुने हो भने यात्रा बढीमा दुई देखी तिन घण्टामै छोट्टिन्छ । मार्तडी कोल्टी सडक भरपर्दो नहुँदा सदरमुकाममा बिषेश काम बाहेक तराई जानका लागि कर्णाली करिडोर बाटै नेपालगन्ज जाने गरेका छन् । यो सडकका कारण सदरमुकाम मार्तडीको ब्यपारमा समेत घाटा भएको होटल ब्यवासायीहरुले बताउने गरेका छन्। भोलिको संभावना देखेर लगानी गरेका सदरमुकामका लगानीकर्ताहरू सडककै कारण निराश बन्दै जान थालेको मार्तडी बजार ब्यबस्थापन समितिका एक पदाधिकारीले बताए ।

मार्तडी कोल्टी सडक निर्माणमा बिगतमा ४२ किलोमिटर सडकमा ३५ करोड भन्दा बढि खर्च गरिसकेको थियो । मार्तडी कोल्टी सडक ३ बर्ष भित्र कालोपत्रे गरिसक्ने योजना सहित सम्झौता भएको ५ बर्ष पुरा भइसक्दा पनि सडक निर्माण हुन सकेको छैन । मार्तडी-कोल्टी सडक निर्माणका लागि २०७८ असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले सडक निर्माण कार्यको जिम्मा लिएका थियो ।

मार्तडी कोल्टी सडक कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन गरिएको थियो । चुथी देखि ढम्कने झन्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलो मिटर गरि ३३ किलोमीटर सडक बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएको भए पनि हाल सम्म २३ प्रतिशत मात्र काम भएको पुर्वाधार कार्यालय अछामले जनाएको छ । मार्तडी कोल्टी सडक निर्माणका लागि संघ र प्रदेश सरकारबाट ९८ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको थियो । यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको पुर्वाधार कार्यालयले जनाएको छ ।

यो सडकले पूर्णता पायो भने जिल्लाको पुर्वी उत्तर क्षेत्रका साथथै हुम्ला र मुगुका केही स्थानिय तहका नागरिकहरूका लागि जीवन बदल्ने मार्ग बन्ने निश्चित छ । यो सडक बाजुराको खप्तड बडिमालिका, बुढिनन्दा जस्ता धार्मीक तथा पर्यटकिय क्षेत्र संगै मुगुको रारा संग नजिक रहेकोले पर्यटकिय मार्गको रुपमा हेरीएको सडक हो ।

चर्चामा

सम्बन्धित समाचार