काठमाडौँ — तनहुँको मरस्याङ्दी बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।
घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।
तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।