काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले शुक्रबार पूर्वडीआईजी छविलाल जोशीमाथि सोधपुछ गर्ने भएको छ ।
दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको तत्कालीन गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछानेका साझेदार रहेका जोशीलाई सोधपुछका लागि शुक्रबार ११ बजे बोलाउन लागिएको समितिले जनाएको छ ।
उनीमाथि सोधपुछ सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको समिति सभापति सूर्य थापाले बताएका छन् ।
गोर्खा मिडिया नेट्वर्कमा छवि, रवि लामिछाने र हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) का साझेदार थिए ।
जोशीकी आमाको निधन भएकाले सोधपुछका लागि समितिले पर्खिएको थियो । यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची थियो ।
तर आमाको काज किरिया भदौ ६ गते सकिएपछि त्यसको भोलिपल्ट छविले सोधपुछमा आउने बताएका थिए । उनीलगत्तै रविमाथि पनि सोधपुछका लागि बाेलाएकाे समितिका एक सदस्यले बताएका छन् ।
समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ ।