बाजुरा ३२ साउन– इजरायलको गाजासीमा क्षेत्रमा गत असोज २० गते प्यालेस्टानी विद्रोही समुह (हमास) को आक्रमणमा परी बन्धक बनाएर राखिएका सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय अन्तर्गत स्नातक तह आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी विपिन जोशीको रिहाईको लागि कुटनैतिक पहल गर्न अनेरास्ववियु जिल्ला कमिटी बाजुराले बृहत हस्ताक्षर संकलन गरेको छ ।
जिल्ला सदरमुकामा अवस्थित मालिका नमुना मावि , बाजुरा क्याम्पस विद्यार्थी तथा शिक्षकहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायतको हस्ताक्षर संकलन गरिएको बताइएको हो ।
जोशीको रिहाईका लागि अनेरास्ववियुले देशब्यापी रुपमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको र सोहि निणर्य माथि एकेबद्धता जनाउदै बाजुरामा पनि हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दिल थापा भोटेले जानकारी दिएका छन् । हस्ताक्षर संकलन गरि जोशीको कुटनैतिक पहलका लागि पहल गर्न अनुरोध सहित भोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइने अध्यक्ष थापाले बताए ।
गत वर्ष भदौ अन्तिम साता सहपाठीहरूसँगै इजरायल पुगेका जोशीलाई इजरायलको दक्षिणी क्षेत्रमा हमासले असोज २० गते अप्रत्याशित रुपमा हमला गरि बन्धक बनाएको थियो ।
इजरायल सरकारको सहयोगमा ‘लर्न एन्ड अर्न’ कायक्रममा गएका दार्चुलाका २ जना सहित सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको हमासको आक्रमणमा परि ज्यान गएको थियो ।