नेपालमा ११२ बालक जन्मिँदा १०० बालिकाको जन्म हुने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयको एउटा प्रतिवेदनले देखाएपछि विज्ञहरूले उक्त असन्तुलनले आउँदा वर्षमा गम्भीर सामाजिक समस्या निम्त्याउने सक्ने भन्दै सचेत गराएका छन्। उक्त असन्तुलनलाई अप्राकृतिक भन्दै उनीहरूले भविष्यमा पुरुषहरूले विवाह गर्नका लागि नेपाली महिला पाउन नसक्ने अवस्था समेत निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन्।
शुक्रवार सार्वजनिक गरिएको बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन विसं २०७८ को जनगणनामा आधारित रहेर तयार पारिएको हो। सो प्रतिवेदनले अघिल्लो जनसङ्ख्याको तुलनामा बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर -१.१ प्रतिशत (ऋणात्मक) भएको जनाएको छ।
विसं २०६८ सालको जनगणनामा बालबालिकाको कुल सङ्ख्या एक करोड १० लाखभन्दा बढी रहेकोमा पछिल्लो प्रतिवेदनले उक्त सङ्ख्या विसं २०७८ सम्म आइपुग्दा घटेर झन्डै ९८ लाख ७० हजार रहेको देखाएको छ। त्यसमध्ये ५१ लाख बालक र साढे ४७ लाख बालिका छन्। पछिल्लो प्रतिवेदनले २०६८ सालमा ०.५ प्रतिशत रहेको बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक अर्थात् -१.१ प्रतिशत रहेको छ।
प्रजननमा आएको ह्रासका कारण त्यस्तो भएको विज्ञहरूले बताइरहँदा सबैभन्दा चिन्ता भने शिशु जन्मँदाको लैङ्गिक अनुपातलाई लिएर व्यक्त गरिएको छ। आँकडाअनुसार जन्मदाको लैङ्गिक अनुपात पछिल्लो ८० वर्षयताकै उच्च भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता हेमराज रेग्मीले बीबीसीसँग भने, “जनसङ्ख्या विज्ञानमा लैङ्गिक अनुपात १०५ सम्म हुनुलाई ठिकै मान्ने गरिन्छ। अहिले हाम्रोमा ११२ जना बालकको जन्मिँदा १०० जना मात्रै बालिकाको जन्म हुने देखिएको छ। यसले नेपालमा बालिकाहरू कम जन्मिन सुरु गरेको देखायो।”
उनका अनुसार नेपालको अहिलेको समग्र जनसङ्ख्यामा भने महिलाको जनसङ्ख्या पुरुषभन्दा धेरै छ। पछिल्लो लैङ्गिक जन्मदरको अनुपातले दीर्घकालमा गम्भीर प्रभाव पार्न सक्ने उनको बुझाइ छ। रेग्मीले थपे, “तत्कालै असर नपरे पनि जब केटाहरू विवाह गर्ने २० वर्ष वा त्यसभन्दा माथिको उमेरमा पुग्छन्, तब उनीहरूले जोडी भेट्टाउन समस्या हुने हो कि भन्ने समस्या देखिन सक्छ।”
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसङ्ख्या विभागका प्रमुख प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङ सन्तान जन्माउने क्रम घटेको र त्योसँगै छोरा वा छोरी छनौट गर्न अभिभावकहरूको ध्यान गएको ठान्छन्। उनका अनुसार पितृसत्तात्मक समाज र छोराले नै वंश धान्ने किसिमका सोच परिवारमा रहेकाले नेपालमा ‘छोरा रोज्ने’ अभिभावकहरू धेरै छन्।
उनले भने, “हामीले समाजमा नै हेर्यौँ भने एउटा मात्रै छोरा हुने परिवारहरू पनि छन्। तर एउटा मात्रै छोरी भएको परिवार साह्रै कम छ। अहिले भ्रूणमा नै बच्चाको लिङ्ग पहिचान गर्ने क्रम पनि छ। छोरा रोजाइमा पर्ने भएकाले नै यस्तो भएको हो।” उनले पछिल्लो जन्मँदाको लैङ्गिक अनुपातको असर अहिलेका बालबालिका विवाह गर्ने उमेरमा पुग्दा देखिने भन्दै परिस्थिति विगतको चीनकै जस्तो हुन सक्ने उल्लेख गरे।
गुरुङ भन्छन्, “विवाह गर्ने उमेरमा उनीहरू पुग्दा केटीहरू कम हुन्छन्। तर तीनतिर हाम्रो देशको जुन सीमा छ र मिल्दाजुल्दा समुदायहरू छन्। त्यसले गर्दा त्यत्ति धेरै अप्ठेरो चाहिँ नपर्ला जस्तो लाग्छ।” उनले यसले लैङ्गिक विभेदमा अझै धेरै सुधार हुन बाँकी रहेको देखाएको र सरकारले लैङ्गिक समानताका लागि अझै धेरै कार्यक्रम ल्याउनु आवश्यक रहेको सन्देश दिएको पनि उल्लेख गरे। अहिले देखिएको असन्तुलन नरोकिएको खण्डमा भविष्यमा त्यसले महिला र पुरूषबीचको विभेदको खाडल थप बढाउने मात्रै नभई महिलासँग जोडिएका आर्थिक र समाजिक पक्षलाई पनि प्रभावित तुल्याउने विज्ञहरू बताउँछन्। बिबिसी