• होमपेज
  • सेलिब्रेटी
  • एउटै चलचित्रमा केपी ओली र माधव नेपाल

एउटै चलचित्रमा केपी ओली र माधव नेपाल

  • बुधबार, साउन २३, २०८१
एउटै चलचित्रमा केपी ओली र माधव नेपाल

कथानक चलचित्रमा समेटिएका पात्रहरुको भूमिकामा कलाकारहरु हुन्छन् । सामान्यतः मुख्य भूमिकामा रहनेलाई हिरो, हिरोइन भनिन्छ । उनीहरुलाई समस्या सिर्जना गर्ने पात्र भिलेन भनेर चिनिन्छन्, अरु सहायक कलाकार हुन्छन् ।

जस्तो– कथाले मागे कुनै कलाकार मन्त्रीको भूमिकामा देखिन्छन् । ती मन्त्री बनेर चलचित्रमा देखिने कलाकार हुन्, मन्त्री होइनन् ।

तर आगामी ७ भदौमा प्रदर्शन गर्ने तयारी रहेको चलचित्र ‘नमेटिने घाउ’ मा भने वास्तविक पात्रहरु नै पर्दामा देखिनेछन् । एसिड आक्रमणमा परेकाहरुको वास्तविक कथामा आधारित भएकाले पीडितहरु नै पर्दामा आउने छन् ।

‘आफ्नैले हानेको एसिडबाट शरीर बिग्रिएको छ, मनमा नमेटिने घाउ छ’, निर्माता एवं निर्देशक रमित ढुंगानाले भने, ‘त्यस्तो निर्मम प्रवृत्ति अन्त्य गर्न मैले यो चलचित्रलाई एउटा अभियान भनेको छु ।’

ढुंगानाले अभियान भनेको यो चलचित्रमा पीडितहरु मात्र नभएर देशकै प्रधानमन्त्री पनि आफ्नै भूमिकामा देखिदैछन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका घटनाविरुद्ध लिनुभएको निर्णयबारे उहाँ आफैंले चलचित्रमा भन्नु हुनेछ’, ढुंगानाले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीको सुटिङ र डबिङको काम सकिएको छ । ‘प्रधानमन्त्री अनामनगर (स्टुडियोमा) आएरै डबिङ गर्नुभयो, उहाँले मेरो अभियानलाई साथ दिनुभएको छ’, निर्माता ढुंगानाले भने ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै पर्दामा देखिनेछन्, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि । अर्थात् एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादीको नेतृत्व गरिरहेका नेपाललाई पनि निर्माता ढुंगानाले ओलीसँगै एउटै चलचित्रमा ‘डेब्यू’ गराएका छन् ।

दुवैलाई यसबारे जानकारी छ । ‘मैले उहाँहरुलाई जानकारी दिएको छु, तपाईंहरु दुवै जना हुनुहुन्छ भनेर’ ढुंगानाले भने, ‘दुवै जनाले केही फरक पर्दैन, यो राम्रो अभियान भएकाले साथ दिन्छौं भन्नुभयो ।’ प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबाट साथ पनि पाएको निर्देशक ढुंगाना बताउँछन् ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री नेपालले एसिड आक्रमणका घटनाविरुद्ध लिएको निर्णयकै कारण चलचित्रमा समेटिएको उनी बताउँछन् । ‘प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ०७७ मा एसिड आक्रमणका घटनाविरुद्ध अध्यादेश ल्याउनुभएको थियो । अरु नेताहरुले पनि यसबारे लिएको निर्णय र उठाएको आवाजका कारण समेटेको हुँ’, उनले भने ।

यो चलचित्रमा ओली र नेपालसँगै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि देखिनेछन् । पौडेल र शाहीलाई एसिड आक्रमणका घटनाविरुद्ध आवाज उठाएकाले चलचित्रमा राखिएको निर्माण पक्षको भनाइ छ ।

एसिड आक्रमणका घटनाविरुद्ध कानुन बनाउन दबाव सिर्जना गर्ने उद्देश्य समेत रहेको यो चलचित्रमा एसिड आक्रमणमा परेका ६ जनाको कथा छ । ‘एसिड आक्रमणमा परेका ३३ जनाकै नमिठो कथा छन्, जसलाई देखाएर अरु सामाजिक जागरण ल्याउन प्रयास गर्नेछु’, निर्देशक ढुंगानाले भने ।

चर्चामा

सम्बन्धित समाचार