• होमपेज
  • बाजुरा बिशेष
  • सरकारी टाेलीसहित डोटी गौंणाको पेटारो बडीमालिका प्रस्थान

सरकारी टाेलीसहित डोटी गौंणाको पेटारो बडीमालिका प्रस्थान

  • सोमवार, साउन २१, २०८१
सरकारी टाेलीसहित डोटी गौंणाको पेटारो बडीमालिका प्रस्थान

डोटीको सरकारी टोली सोमबार बडीमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली पैदल बडीमालिका प्रस्थान गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बिशेष पूजाआजा गरी टोलीलाई बिदाइ गर्नुभएको हो । सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट सोमबार दिउँसो बिदाइ गरेको हो । टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय पूजारी तथा सन्तहरुको सहभागिता रहेको छ ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोली पेटारोसहित पैदल जाने गर्दछ । डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिर, नाट्यश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी उक्त टोली बडीमालिका प्रस्तान गर्ने प्रचलन चल्दै आएको छ । परापूर्वकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो । त्यसै अनुरुप जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरकारी पेटारो बडीमालिकाका लागि पठाईएको उनले बताए ।

जनैपूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । औपचारिक रुपमा पूजाआजा गर्नुपर्ने परम्पराअनुसार अछाम, डोटी, जुम्ला र कालीकोटको सरकारी पूजा टोली बडिमालिका जाने गर्दछ । बाजुरा जिल्लाबाट २०७२ सालदेखि सरकारी पूजा टोली औपचारीकरुपमा बडिमालिका जाने गर्दछ । त्यस अघि पनि आनौपचारिकरुपमा त्यहाँबाट पूजा जाने प्रचलन रहेको पाइन्छ ।

चतुर्दशीको पूजाका लागि कालीकोटबाट सुनको गजुरसहित पेटारो (पूजा सामग्रीको पोको) बोकेर सरकारी टोली बडीमालिकाका लागि प्रस्तान गर्छ । अछामको वैद्यनाथ मन्दिरबाट आठ दिनअघि नै पाक्न लागेको धानको बालासहितको टोली र बाजुराबाट तीन दिनअघिबाटै सरकारी टोली मालिका मन्दिर पुग्छ । बाजुराको हकमा पेटारो पठाउने चलन अन्य जिल्लाभन्दा पछि चलेको पाइन्छ । जुम्लाबाट नागपञ्चमीका दिन सरकारी टोली बाजागाजासहित बडीमालिकाका लागि प्रस्तान हुन्छ । तत्कालीन डोटी गौंणा (हाल जिल्ला)को सरकारी टोली १५ दिनअघि नै बडीमालिकातर्फ प्रस्थान गर्छ । यसरी पूजाको डोलीसहित बडीमालिका हिँडेको टोलीलाई सेनाको टुकुटीले सलामी अर्पण, बाजागाजा र बिगुल फुकेर भव्य बिदाइ गर्ने गरिन्छ । सामान्यतः यी पेटारे सरकारी टोलीभन्दा अगाडि कोही जाँदैनन् । बडीमालिकाको यात्रा डोटीको पेटारे टोलीबाट सुरु हुन्छ । डोटीबाट सरकारी पूजा नभई अरूले पूजा गर्न नपाउने प्रचलनसमेत रहेको शैलेश्वरी मन्दीरका मुख्य पूजारी प्रेमशंकर भट्टले बताउनु भयो । डोटीपश्चात् अन्य जिल्लाका पेटारे टोली एवं तीर्थयात्रीले पूजा गर्छन् ।

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयबाट हिँडेको सरकारी टोली १५ दिन पछि बडीमालिका पुग्ने छ । पैदल हिँडेको उक्त टोली ढाइढाई कोसको दुरीमा बास बस्दै, ठाउँठाउँमा पूजाआजा गर्दै जाने प्रचलन रहेको पूजारी भट्टले बताए । डोटीबाट प्रस्थान गरेको टोली सोमबार साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बास बस्नेछ । यस्तै मंगलबार पूर्वीचौकी–५ मा रहेको धानुकाँडा बास बस्नेछ । अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल बैद्यनाथ हुँदै बडीमालिका पुग्ने चलन छ । पूजा सामग्रीमा डोटी दिपायल दिल्पेश्वरबाट भुरुणी (धानको पात), सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरली र बैद्यनाथको अक्ष्ता समावेश गरिएको हुन्छ । उक्त सामग्रीहरु समावेश गरिएको झोलीलाई पेटारो भनिन्छ । जानकारका अनुसार शुक्ल प्रतिपदामा प्रस्तान गरेको सरकारी टोली जनैपूर्णीमाको अघिल्लो दिन बडीमालिका पुग्छ । चतुर्दशीका दिन पूजा हुने हुँदा त्रियादशीको रातभरि मागल भजन गाएर देवीको जयजयकारले मालिका पर्वत गुञ्जायमान हुन्छ ।

साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका मन्दिरमा मूल पूजा हुने गर्छ । पूजा अर्चनासँगै बिहान होम सुरु हुन्छ । जौ, तिल, घ्यू, तेल, विधि विधान र मन्त्रबाट हवन कुण्डमा हाम भई टीका, तिलक, प्रसादस्वरूप देवीलाई चढाई सम्पूर्ण भक्तजन एवं दर्शनार्थीलाई दिइन्छ । बडीमालिकाको पूजा चतुर्दशीको दिन बिहानको ११ बजे आसपास सकिने हुँदा सरकारी पेटारे टोलीसहित सम्पूर्ण तीर्थयात्री नाट्टेश्वरीतर्फ लाग्छन् र त्यहाँ रातभर जात्रा हुन्छ । जनैपूर्णिमाको दिन नाट्टेश्वरीका कालिकाको पूजा हुन्छ । नाट्टेश्वरी माई (कालिका) अर्थात् मौरे क्षेत्र प्राचीन समयदेखिको देवीको नाचगान, मनोरञ्जन गर्ने ‘नाचन थली’को रूपमा रहेको विश्वास छ । नाट्येश्वरी माईका पुजारी छत्याल वंशीय ठकुरी हुनुहुन्छ । नाट्टेश्वरी मन्दिरमा पूजा गरेपछि बडीमालिका दर्शनको चक्र पूरा हुन्छ । त्यसपश्चात् पैमा पुजारी आफ्नो मूल घर भण्डार गृह फर्की बाजागाजा, पञ्चकलशसहित देवीलाई भव्य स्वागतका साथ डोली घरमा भित्र्याउने गर्नुहुन्छ ।

भगवती बडीमालिकाको पूजा भएपछि मात्रै अन्य क्षेत्रमा पूजाआजा हुने गरेको शैलेश्वरी मन्दिरका मुख्य पूजारी भट्टले बताउनु भयो । उहाँका अनुसार ११औं सताब्दीपूर्व नै बडीमालिकाको पूजाआजा हुँदै आएको छ । डोटी गौंणाका राजाहरुका पाला देखि हालसम्म सरकारी पेटारो बडीमालिका प्रस्तान गर्ने प्रचलन रहेको छ । अमरसिंह थापाले पनि युद्ध जित्नका लागि बडीमालिका भाकल गरेको र सोही अनुरुप पूजाआजा गरिदैआएको किंवदन्ती रहेको छ । संघीयता अघि पेटारो सहतिको सरकारी टोली, नेपाली सेनाको पल्टनसहित बडीमालिका प्रस्थान गर्ने र ठाउँठाउँमा सलामी अर्पण गर्ने प्रचलन रहेको थियो । प्रत्यक वर्ष बडीमालिका प्रस्थानका लागि जिल्ला प्रशासन कार्यालयमा बजेट आउने गर्दथ्यो । संघीयता पछि भने त्यो बजेट कटौती भएको र हाल स्थानीय तहहरुले बजेटको व्यवस्था गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शिखर समचार अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार