• होमपेज
  • अन्तर्राष्ट्रिय
  • बाङ्ग्लादेशमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन, देशभरि इन्टरनेट बन्द

बाङ्ग्लादेशमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन, देशभरि इन्टरनेट बन्द

  • सोमवार, साउन २१, २०८१
बाङ्ग्लादेशमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन, देशभरि इन्टरनेट बन्द

बाङ्ग्लादेश भरि इन्टरनेट पूरै बन्द गर्ने आदेश अधिकारीहरूले दिएको विवरण आएको छ। प्रदर्शनकारीहरूबीच सञ्चार र समन्वय गर्न असहज होस् भनेर त्यसो गरिएको ठानिएको छ। बाङ्ग्लादेशको कुल जनसङ्ख्या १७ करोडमध्ये अधिकांश मानिसले इन्टरनेट चलाउँछन्।

राजधानी ढाकामा आइतवार मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको थियो। बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको बीबीसी बङ्ग्लासँग बताए थिए। फेसबुक र ह्वाट्स्यापजस्ता सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको विवरण सार्वजनिक भएको थियो।

सोमवार बिहानदेखि बाङ्ग्लादेशमा धेरै पढिन ‘द ढाका ट्रिब्यून’ र ‘बाङ्ग्ला ट्रिब्यून’का वेबसाइटहरू बन्द भएका छन्। अर्को लोकप्रिय समाचार वेबसाइट ‘डेली स्टार बाङ्ग्ला’ पनि खुलेको छैन। आइतवारको प्रदर्शनका क्रममा झन्डै २०० जना घाइते भएको विवरण आएका छन्।

राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएका थिए। सहरका अन्य भागमा पनि हिंसात्मक घटनाहरू भएको विवरण आएका छन्। सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।

केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन्। बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ। उक्त सङ्ख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट सङ्कलित विवरणका आधारित छ। एएफएपीका अनुसार आइतवार एकैदिन ९४ जनाको ज्यान गएको थियो। बिबिसीबाट

चर्चामा

सम्बन्धित समाचार