नेपाल सरकारले सटही सुविधा नदिएका कारण “झन्डै एक अर्ब रुपैयाँ भुक्तानी नपाएको” भन्दै भारतीय पक्षले नेपालमा बिहीवारदेखि आफ्ना टेलिभिजन च्यानलको प्रसारण बन्द गरिदिएको छ। त्यसबाट भारतका सोनी, जी, स्टार र कलर्स नेटवर्कसहितका झन्डै ६० वटाजति हिन्दी र अङ्ग्रेजी टेलिभिजन च्यानलहरू अवरुद्ध भएको देखिन्छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले प्रसारकहरूले उपभोगको तथ्याङ्क पेस नगरेका कारण सटहीमा सहजीकरण गर्न नसकिएको बताए।झन्डै डेढ वर्षअघि चैतमा मन्त्रिस्तरीय निर्णय गर्दै सरकारले ‘आलकार्ट’ भनिने आफूहरूले हेर्न चाहेको च्यानलको मात्र पैसा तिर्नुपर्ने प्रणाली ल्याएको थियो।त्यस बेला सेवा प्रदायकहरूले धेरै उपभोक्ताबाट अग्रिम भुक्तानी लिइसकिएको भन्दै २०८० सालको कात्तिकसम्मका लागि समय मागेका थिए।
तर त्यसपछि पनि बारम्बार समयसीमा तोक्दा समेत उक्त निर्णय लागु हुन नसकेपछि टेलिभिजन च्यानलहरू बन्द हुने समस्या आएको अधिकारीहरू बताउँछन्। प्रसारक र वितरकबीच विवाद भएपछि टेलिभिजन च्यानलहरूमा यस्तो सूचना देखिन्छ तस्बिरको क्याप्शन,प्रसारक र वितरकबीच विवाद भएपछि टेलिभिजन च्यानलहरूमा यस्तो सूचना देखिन्छ।
“उहाँहरूले ग्राहकको उपभोगसम्बन्धी तथ्याङ्क नै पेस गरिरहनुभएको छैन। तथ्याङ्क जुटाउने काम सरकारकै हो भनिरहनुभएको छ,” प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए। “तथ्याङ्क उहाँहरूले पेस गर्नुपर्ने हो। सेटअप बक्सका आधारमा वहाँहरूसँग त्यसको विवरण हुन्छ। सोहीबमोजिम तथ्याङ्क हामीलाई पेस गर्दा अन्य कुरामा खासै समस्या छैन।” #बीबीसी