• होमपेज
  • बडिमालिका
  • बाजुरामा एक बर्षमा २० करोडमा बने सय बढि सिचाई कुलो, धान राेप्न आकाशे पानीकै भर

बाजुरामा एक बर्षमा २० करोडमा बने सय बढि सिचाई कुलो, धान राेप्न आकाशे पानीकै भर

२२ हजार ९ सय हेक्टर जमिन रोपाई गर्न आकाशे पानीकै भर

  • शुक्रबार, साउन १८, २०८१
बाजुरामा एक बर्षमा २० करोडमा बने सय बढि सिचाई कुलो, धान राेप्न आकाशे पानीकै भर

टेक बहादुर बुढा– बाजुरामा गत आर्थिक बर्ष २०८०।०८१ मा २० करोड बढी लागतमा एक सय ३ ओटा सिचाई कुलो बनेका छन् । गत आर्थिक बर्षमा जिल्लाका नौ वटै स्थानिय तहमा २० करोड ६५ लाख ४० हजारमा १ सय ३ पक्की कुलो निर्माण भएका हुन् । जलश्रोत तथा सिँचाइ विकास सव डिभिजन कार्यालय बाजुराको तथ्याङक अनुसार गत बर्षमा मात्रै करोडौं बढी लागतमा जिल्लाभर १ सय तीन सिँचाई योजना सम्पन्न भएको जनाएको छ । केहि तटबन्धन बनेपनि सय बढी पक्की कुलो मात्रै निर्माण भएको तथ्याकंमा उल्लेख गरिएको छ । एक बर्षमा सबैभन्दा बढी १२ करोड लागतमा जिल्लाको बुढीगंगा नगरपालिकामा एक तटबन्धनका साथैं पक्की कुलोहरु निर्माण भएका छन् ।
जिल्लामा सबैभन्दा कम सिँचाइको सुविधा पुगेका हिमालीमा ३० लाख लागतमा २ र जगन्नाथ गाउँपालिकामा ४५ लाख लागतमा २ वटा मात्रै कुलो निर्माण भएका कार्यालयका निमित्त कार्यालय प्रमुख नर बहादुर हमालले जानकारी दिएका छन् । ती पालिकाहरुमा कुल खेतियोग्य जमिनको ९७ प्रतिशत जमिनमा आकाशेपानीको भरमा खेति गरिदैँ आएको छ ।
त्यस्तै करिब १० प्रतिशत सिँचाइ सुविधा पुगेको कर्णाली पारिको स्वामिकार्तिक खापर गाउँपालिकामा एक करोड बढी लागतमा ८ वटा कुलोहरु निर्माण भएका छन् भने जिल्लामै सबैभन्दा बढी सिँचाइको सुविधा पुगेको बडिमालिका नगरपालिकामा तीन करोड बढी लागतमा १७ वटा सिँचाई योजना बनेको जलश्रोत तथा सिँचाइ विकास सव डिभिजन कार्यालय बाजुराका निमित्त प्रमुख हमालले बताएका छन । यस बर्ष सिँचाई कार्यालयमा संघ तथा प्रदेशबाट २३ करोड ८१ लाख ६५ हजार बजेट विनियोजन भएकोमा २० करोड ६५ लाख ४० हजार खर्च भएको निमित्त प्रमुख हमालले बताए ।
वास्तविक स्थान र जनताको आवश्यकताका आधारमा नभई पहुँच र शक्तिका आधारमा योजना ल्याउने प्रवृतिले जिल्लामा हरेक बर्ष करोडौ रुपैयाँ खर्च गरेर सिँचाई योजना निर्माण भएपनि नतिजा भने निकै कम देखिएको निमित्त कार्यालय प्रमुख हमालले बताएका छन् । निमित्त कार्यालय प्रमुख हमालले भने,“जुन ठाउँमा प्रमुख आवश्यकता हुन्छ त्यँहा कम बजेटका योजना आउने र जसको पहुँच र पावर छ त्यँहा करोडौंका योजना हरेक बर्ष आउँछन् ।”
यसरी हरेक बर्ष संघ तथा प्रदेशबाट करोडौं बजेटका योजनाहरु गाउँ गाउँमा पुगेपछि केहि ठाउँका किसानलाई राहत भएपनि केहि गाउँका वास्तविक किसानहरुलाई भने खेती गर्न आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता रहदैँ आएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंले देखाउछ ।
हरेक बर्ष करोडौंको लगानीमा टाढाका खोला तथा नदिको पानी खेतबारीसम्म पुर्याउन पक्की कुलोहरु बनेपनि जिल्लामा हालसम्म १८ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ भने बाँकी खेतियोग्य जमिनमा आकाशे पानीकै भरमा खेती गरिदै आएको छ ।
जिल्लाको २ लाख ३० हजार ३७ हेक्टर क्षेत्रफल जमिन मध्ये २८ हजार १ सय ३५ हेक्टर जमिन खेतियोग्य रहेको छ । हाल सम्म ३ हजार ५ सय २५ हेक्टर जमिन सिचाई हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा रहेको छ। अझै २२ हजार ९ सय हेक्टर खेतीयोग्य जमिनमा सिचाई सुबिधा पुग्न नसकेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार