एउटा समय यस्तो थियो जब भारतमा ठुलो संख्यामा गिद्ध पाइन्थे । गाईवस्तुको सिनोको खोजीमा फोहोर थुपारिएका विशाल ठाउँहरूमा गिद्ध झुम्मिइरहेका हुन्थे । कुनैबेला विमानस्थलबाट उडान भर्ने क्रममा जहाजसँग ठोक्किएर वा जेट इन्जिनमा छिरेर पाइलटका लागि खतरा पैदा गर्दथे ।
तर, जब बिरामी गाईवस्तुका लागि प्रयोग गरिने केही औषधिहरूका कारण दुई दशक भन्दा केही अघिदेखि भारतमा ठुलो संख्यामा पाइने ती गिद्ध मर्न थाले । सन् १९९० को दशकको मध्यतिर आइपुग्दा ५ करोडको संख्यामा रहेका गिद्धको संख्या डाइक्लोफेनाक नामको औषधिका कारण करिब शून्यमा आयो । डाइक्लोफेनाक गाईवस्तुमा प्रयोग गरिने स्टेरोइड मुक्त दुखाइ कम गर्ने औषधि हो । यो गिद्धका लागि घातक रहेको छ ।
जब कुनै पंक्षीले यो औषधीको प्रयोग गरिएका पशुहरूको सिनो खान्छन्, ती पंक्षीहरुको मिर्गौला फेल हुन्छ र मर्छन् । State of India’s Birds को नयाँ रिपोर्ट अनुसार सन् २००६ मा पशुहरुको उपचारमा प्रयोग हुने डाइक्लोफेनाक औषधिमाथि भारतमा प्रतिबन्ध लगाइएसँगै केही क्षेत्रहरुमा गिद्धको मृत्युमा गिरावट आएको छ । तर, कम्तीमा ३ वटा प्रजातीहरू यस्ता थियो जोमाथि यो औषधिको दीर्घकालीन असर पर्यो र ९१ देखि ९८ प्रतिशतसम्मको क्षति बेहोर्नु पर्यो ।
अमेरिकन इकोनोमिक एसोसिएसन जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ : ती गिद्धको मृत्युका कारणले घातक ब्याक्टेरिया तथा संक्रमण फैलियो । जसका कारण ५ वर्षमा करीब ५ लाख मानिसको मृत्यु भयो ।
५ लाख मानिसको मृत्यु कसरी भयो ?
अध्ययनका एकजना लेखक तथा शिकागो विश्वविद्यालयस्थित ह्यारिस स्कुल अफ पब्लिक पोलिसीका सहायक प्राध्यापक इयाल फ्रेंक भन्छन् – गिद्धले प्रकृतिलाई स्वच्छ राख्न र हाम्रो पर्यावरणबाट जिवाणु तथा रोगबाट मरेका जनावरहरु हटाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । गिद्धको अभावमा रोग फैलिन सक्दछ । मानिसको स्वास्थ्यमा गिद्धको भूमिकाले वन्यजन्तुको संरक्षणको महत्वलाई दर्शाउँछ।
पर्यावरणमा सबै जिवहरुको आ आफ्नै काम हुन्छ, जसले हाम्रो जीवनलाई प्रभावित गर्दछन् । फ्रेंक र उनका सहकर्मी शोधकर्ता अनन्त सुदर्शनले गिद्धको संख्यामा गिरावट हुनुभन्दा अघि र पछि ऐतिहासिक रुपबाट गिद्धको संख्या कम भएका भारतीय जिल्लाहरू तथा गिद्धको संख्या धेरै भएका जिल्लाहरुमा मानवीय मृत्युको दरको तुलना गरे ।
उनीहरूले रेबिन खोपको बिक्री, जंगली कुकुरको संख्या तथा पानी आपूर्तिमा रोग फैलाउने कारकहरुको स्तरको अध्ययन गरे । त्यसक्रममा सुन्निएको उपचारमा प्रयोग हुने औषधिको बिक्री बढ्दा र गिद्धको संख्या घटेपछि ती जिल्लाहरु (जहाँ कुनै समय गिद्धको संख्या उच्च थियो) मा मानव मृत्युको दरमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि देखियो ।
शोधकर्ताहरुका अनुसार पशुहरुको सिनो यत्रतत्र फ्याँकिने गाईवस्तुको संख्या बढी भएका सहरहरुमा यसको प्रभाव सबैभन्दा धेरै पाइएको थियो । शोधकर्ताहरुका अनुसार सन् २००० देखि २००५ सम्ममा गिद्धको संख्या घटेका कारणले हरेक वर्ष करिब एक लाखभन्दा धेरै मानिसको मृत्यु भयो । अकाल मृत्युका कारण भारतले हरेक वर्ष ६९ अर्ब डलरको क्षति ब्यहोर्नु पर्यो ।
कुनै प्रजाती नासिँदा मानिसमा के असर पर्छ ?
उल्लेखित मृत्युहरु यस्ता रोग तथा जिवाणुहरू फैलिएका कारण भएन, जसलाई आम रुपले गिद्धले पर्यावरणबाट टाढा राखिदिन्थे । वास्तवमा गिद्ध नहुँदा भुस्याहा कुकुरहरुको सख्यामा वृद्धि भयो र मानिसमा रेबिज जस्ता रोगहरुको दर बढ्न पुग्यो । त्यसबेला रेबिज खोपको बिक्री बढ्यो, तर खोप पर्याप्त मात्रामा उपलब्ध थिएन ।
गिद्धले जस्तो कुकुरले सिनोका अवशेषहरू सफा गर्न सक्दैनथ्यो । जसका कारण सिनोमा भएका जिवाणुहरू खानेपानीका स्रोतसम्म पुगे । पानीमा त्यस्ता हानिकारक ब्याक्टेरिया मिसिंदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्यो । वार्विक विश्वविद्यालयका सहप्राध्यापक तथा यस अध्ययनका सहलेखक सुदर्शन भन्छन् : भारतमा गिद्धको संख्यामा गिरावट आउनु वास्तवमा यो कुराको प्रष्ट उदाहरण हो कि कुनै प्रजाति नासिंदा मानिसले कति भारी तथा अप्रत्याशित मूल्य चुकाउनु पर्ने हुन्छ ।
उनी भन्छन्-यो मामिलामा नयाँ रसायनहरुलाई दोषी ठहराइयो । तर, अन्य प्राकृतिक बासस्थान विनास, वन्यजन्तुको अवैध व्यापार तथा जलवायु परिवर्तन जस्ता मानवीय गतिविधि सिर्जित घटनाले जीवजन्तुमा असर पारेका छ र अन्ततः त्यसले समग्र मानिसलाई नै प्रभाव पार्दछ ।
गाईवस्तुको सिनो हटाउनका लागि गिद्धमा निर्भर हुन्थे किसान
भारतमा सबैभन्दा ठुलो संख्यामा गिरावट आएका गिद्धका प्रजातीहरुमा सेतो प्वाँख भएको गिद्ध, भारतीय गिद्ध, लालसर गिद्ध लगायतका छन् । ती प्रजातीहरुले सन् २००० को दशकको सुरुवातदेखि सबैभन्दा महत्वपूर्ण दीर्घकालीन गिरावटको सामना गरे । ती गिद्धको संख्यामा त्यसदेखि अहिलेसम्म ९१ देखि ९८ प्रतिशतसम्मको गिरावट आएको छ ।
इजिप्सियन गिद्ध र ग्रिफोन गिद्धको संख्यामा पनि उल्लेख्य गिरावट आएको छ, तर त्यो धेरै विनाशकारी छैन । शोधकर्ताका अनुसार भारतमा सन् २०१९ को पशु गणनामा देशमा ५० करोडभन्दा धेरै पशु रहेको तथ्यांक छ । अर्थात् भारत विश्वमै सबैभन्दा धेरै घरपालुवा पशु भएको देश हो ।
विगतमा किसानहरुले पशुका शवलाई छिटो गरी हटाउनका लागि गिद्धमा निर्भर हुन्थे । तर, भारतमा गिद्धको गिरावट कुनै पनि पन्छी प्रजातिमा अहिलेसम्मकै सबैभन्दा तीव्र गिरावट मानिएको छ । जुन अमेरिकामा परेवा लोप भएपछिको ठूलो गिरावट हो । भारतीय चराहरूको अवस्थासम्बन्धी रिपोर्ट अनुसार भारतमा अहिले केवल संरक्षित क्षेत्रको आसपासमा मात्रै बाँकी गिद्ध छन् । त्यस क्षेत्रमा गिद्धको आहारको रुपमा दूषित घरपालुवा पशुको साटो मृत वन्यजीवहरू अधिक रहेका छन् ।
विज्ञका अनुसार गिद्धको संख्यामा निरन्तर गिरावटले गिद्धमाथि मडारिइरहेको खतरातर्फ संकेत गर्दछ, जुन गम्भीर चिन्ताको विषय हो । किनकि गिद्धको संख्यामा गिरावट आउँदा मानव कल्याणमा नकारात्मक असर पर्दछ । वास्तवमा पशुका लागि प्रयोग हुने डाइक्लोफेनाक औषधि नै गिद्धका लागि ठूलो खतरा बनेको छ । हालको समयमा मृत पशुलाई खुल्ला ठाउँमा नछाडी खाडलमा पुर्ने तथा जंगली कुकुरका कारण पनि यो समस्या थप गम्भीर बनेको छ ।
त्यसका अलावा खानी तथा उत्खनन पनि समस्या बनेको छ जसले गिद्धका कतिपय प्रजातीहरुलाई गुँड बनाउने काममा असर गर्दछ । उसोभए के अब गिद्धको पुनरागमन होला ? यो भनिहाल्न कठिन छ । तर, केही संकेतहरुले भने आशा जगाएका छन् । गतवर्ष २० वटा गिद्धलाई पालेर उनीहरुको खुट्टामा स्याटेलाइट ट्याग लगाई पश्चिम बंगालको एक बाघ आरक्षमा छाडियो । हालै भएको एक सर्भेक्षणले दक्षिण भारतमा ३ सय भन्दा धेरै गिद्ध रहेको देखाएको छ । तर, अझै पनि यो अपर्याप्त छ । गिद्धको संख्या बढाउनका लागि अझै पनि धेरै काम गर्नु आवश्यक छ ।
-बीबीसीबाट