• होमपेज
  • राजनीति
  • आज सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदै

आज सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदै

  • मङ्लबार, साउन ८, २०८१
आज सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदै

धनगढी– आज (मंगलबार) सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदैछ। नयाँ गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गरेपछि आजदेखि सुरु हुँदैछ। प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाईभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए।

प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको बताए। सभामुख भीमबहादुर भण्डारीले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशन किन बोलाइएको हो? भन्ने विषयमा छलफल भएको थियो।
प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा विशेष अधिवेशन बोलाइनुको कारण र उक्त अधिवेशनमा गर्ने गतिविधिबारे उल्लेख नगरिएको भन्दै एकपटक सोध्ने निर्णय भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी भने सहभागी थिएन।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस–एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा असार २० गते एमाले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो। एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि बजेट शून्यतामा गएको छ।

सरकारले असार २९ गते प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। तर प्रदेश प्रमुखले पाँच दिनपछि साउन ३ गते अधिवेशन आह्वान सम्बन्धी सिफारिस कार्यान्वन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए। प्रदेश प्रमुखले चालेको यो कदमले अध्यायदेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको तयारीमा ब्रेक लागेको छ।
बजेट संकट
सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएपछि प्रदेश प्रमुख नजिर मियाँले आज संसद्को विशेष अधिवेशन आह्वान गरेका छन्। बिहीबार राति १२ बजेटबाट लागू हुने गरी प्रदेश प्रमुख मियाँले संसद्को बजेट अधिवेशन अन्त्य गरेका थिए। संसद् अधिवेशन अन्त्य भएकै भोलिपल्ट संसद्को एक चौथाइ प्रदेशसभा सदस्यहरूले हस्ताक्षरसहित विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख मियाँले साउन ८ गते (आज) का लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

मुख्यमन्त्री सोडारी अल्पमतमा परेपछि उनले अध्यादेशबाट बजेट ल्याउन असार ३० गते चालु रहेको संसद्को बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई पत्र पठाएका थिए। त्यतिबेला प्रदेश प्रमुख बाहिर भएकाले बिहीबार रातिबाट उनले संसद्को चालु बजेट अधिवेशन अन्त्य गरेका थिए। तर, अहिलेको नयाँ सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका एक चौथाइ बढी सदस्य (२० जना) ले संसद्को विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख मियाँले विशेष अधिवेशन आह्वान गर्न सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका थिए।

चर्चामा

सम्बन्धित समाचार