• होमपेज
  • समाचार
  • नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

  • बिहिबार, साउन ३, २०८१
नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

काठमाडौं —नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई बुधबार (साउन २ गते) महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन् ।

श्रम कानूनका ज्ञाता रहेका बडाल यसअघि लामो समय एमाले समर्थित श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध थिए । महान्यायाधिवक्ता नियुक्त हुनुअघि उनी एमालेको कानून विभागका प्रमुख हुन् ।

महान्यायाधिवक्ता पदमा दोहोरिनेमा बडाल तेस्रो व्यक्ति हुन् । यसअघि मोतीकाजी स्थापित र प्रेमबहादुर विष्ट दुई पटक महान्यायाधिवक्ता बनेका थिए ।

यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राजीनामा दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार