• होमपेज
  • फुटबल
  • युरोकप फुटबलको फाइनलमा चौथो उपाधि कुम्ल्याउने धुनमा स्पेन, पहिलो उपाधिको खोजीमा इङ्ल्यान्ड

युरोकप फुटबलको फाइनलमा चौथो उपाधि कुम्ल्याउने धुनमा स्पेन, पहिलो उपाधिको खोजीमा इङ्ल्यान्ड

  • आइतवार, असार ३०, २०८१
युरोकप फुटबलको फाइनलमा चौथो उपाधि कुम्ल्याउने धुनमा स्पेन, पहिलो उपाधिको खोजीमा इङ्ल्यान्ड

काठमाडौँ  —विश्व फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोकपको उपाधि भिडन्त सोमबार राति जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा हुँदैछ । प्रतियोगिताको फाइनलमा विश्व फुटबलका दुई हस्ती स्पेन र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ ।

युरोकपको १७औँ संस्करणमा यी दुवै टोली अपराजित रहँदै फाइनलसम्म पुगेकाले उपाधि भिडन्त पनि निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । फाइनलमा स्थान पक्का गर्ने क्रममा स्पेनले आफूले खेलेको ६ वटै खेलमा जित हात पारेको छ ।

जारी युरोकपमा स्पेन आफूले खेलका सबै खेलमा जित हात पार्ने एकमात्र टोली पनि हो । इङ्ल्यान्डले भने चार खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ । पछिल्लो समय यी दुवै टोलीको प्रदर्शन उत्कृष्ट देखिन्छ ।

दुवै टोलीको फाइनल यात्रा
स्पेन आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ मा परेको स्पेनले तीनवटै खेलमा जित हात पारेको थियो । स्पेनले आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा स्पेनले साबिक विजेता इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो । समूहगत चरणमा स्पेनले पाँच गोल गर्‍यो भने एक गोल पनि खाएन ।

यसैगरी इङ्ल्यान्ड समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । जारी युरोकपमा इङ्ल्यान्ड पनि हालसम्म अपराजित छ । इङ्ल्यान्डले समूहगत चरणको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।

इङ्ल्यान्डले पहिलो खेलमा सर्बियालाई १–० गोलले हराएको थियो । इङ्ल्यान्डको टोली आफ्नो दोस्रो खेलमा डेनमार्कसँग १–१ गोलको बराबरमिा र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको थियो । इङ्ल्यान्डले समूहगत चरणमा दुई गोल गरेको थियो भने एक गोल खाएको थियो ।

यसैगरी, स्पेनले प्रि–क्वार्टरफाइनल खेलमा जर्जियालाई ४–१ गोलले हराएको थियो । क्वार्टरफाइनल खेलमा भने स्पेनले प्रभावशाली प्रतिद्वन्द्वी जर्मनीलाई उसैको घरेलु मैदानमा अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोलले हराएको थियो ।

अर्कोतिर, प्रि–क्वार्टरफाइनल खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई अतिरिक्त समयमा २–१ गोलले हराएको थियो । क्वार्टरफाइनल खेलमा भने ‘थ्रि लायन्स’ ले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गरेको थियो ।

निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्यान्डले बाजी मार्‍यो । सेमिफाइनलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई २–१ गोलले पाखा लगाएको थियो । समग्रमा आपसमा उपाधि भिडन्त पक्का गर्दासम्म यी दुवै टोलीको प्रदर्शन अब्बल देखिन्छ ।

स्पेन चौथो उपाधिको खोजीमा
युरोकपमा स्पेनको यो १२ औँ सहभागिता हो । स्पेनले सन् १९६४ मा पहिलो पटक युरोकपमा भाग लिएको थियो । युरोकपको त्यो दोस्रो संस्करण थियो । युरोकपको सबैभन्दा बढी संस्करणमा सहभागिता जनाउने राष्ट्रको सूचीमा जर्मनीपछि स्पेन दोस्रो स्थानमा पर्छ ।

स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो । त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो ।

त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो । त्यसलगत्तै स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो ।

स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । यसका अतिरिक्त स्पेन सन् १९८४ मा पनि युरोकपको फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा स्पेनको टोलीलाई फ्रान्सले २–० गोलले हराएको थियो । सग्रमा युरोकपमा स्पेनको यो पाँचौँ फाइनल यात्रा हो ।

इङ्ल्यान्डको केवल दोस्रो फाइनल यात्रा
यसैगरी युरोकप फुटबलमा इङ्ल्यान्डको यो ११औँ सहभागिता हो । इङ्ल्यान्डले सन् १९६८ मा सम्पन्न तेस्रो संस्करणदेखि युरोकपमा सहभागिता जनाउन थालेको हो । पहिलो सहभागितामा इङ्ल्यान्ड तेस्रो भएको थियो । त्यतिबेला तेस्रो स्थानका लागि पनि भिडन्त गराइन्थ्यो ।

त्यतिबेला तेस्रो स्थानमा लागि भएको खेलमा इङ्ल्यान्डले तत्कालीन सोभियत सँघलाई २–० गोलले हराएको थियो । इङ्ल्यान्डले हालसम्म युरोकपको उपाधि भने जित्न सकेको छैन । इङ्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि हो ।

इङ्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो । समग्रमा इङ्ल्यान्ड केवल दोस्रो पटक युरोकपको फाइनलमा पुगेको हो । यो तथ्याङ्कले भने इङ्ल्यान्डलाई स्पेनभन्दा केही कमजोर देखाउँछ ।

दुवै राष्ट्र विश्वकपको पूर्वविजेता
स्पेन र इङ्ल्यान्ड दुवै राष्ट्रले विश्वकपको उपाधि पनि जितिसकेका छन् । स्पेन र इङ्ल्यान्ड दुवैले एक–एक पटक विश्वकपको उपाधि चुमेका छन् । स्पेनिस टोलीले भने सन् २०१० मा विश्वकपको उपाधि उचालेको थियो ।

त्यतिबेला स्पेनले फाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको थियो । त्यसदेखि बाहेक स्पेन विश्वकपको फाइनलमा पुग्न सकेको छैन । सन् १९५० मा एकपटक स्पेनको टोली विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।

त्यतिबेला तेस्रो स्थानका लागि खेलाइएको खेलमा स्पेनको टोली स्विडेनसँग १–३ गोलले पराजित भएको थियो । स्पेनले एकपटक विश्वकपको आयोजना पनि गरेको छ । स्पेनले सन् १९८२ मा विश्वकपको सफल आयोजना गरेको थियो । सन् २०३० को विश्वकप भने स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् ।

यसैगरी, इङ्ल्यान्डले स्पेनभन्दा अगाडि नै एकपटक विश्वकपको उपाधि चुमेको थियो । इङ्ल्यान्डको टोलीले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला इङ्ल्यान्डले फाइनलमा तत्कालीन पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४–२ गोलले हराएको थियो ।

त्यसदेखि बाहेक इङ्ल्यान्ड कहिल्यै विश्वकपको फाइनलसम्म पनि पुग्न सकेको छैन । सन् १९९० र सन् २०१८ मा भने इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । सन् १९९० मा तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्यान्डलाई इटालीले १–२ गोलले हराएको थियो ।

सन् २०१८ मा तेस्रो स्थानका लागि खेलाइएको खेलमा बेल्जियमले इङ्ल्यान्डलाई २–० गोलले पराजित गरेको थियो । इङ्ल्यान्डले हालसम्म एकपटक विश्वकपको आयोजना पनि गरेको छ । इङ्ल्यान्डले सन् १९६६ विश्वकपको सफल आयोजना गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार