काठमाडौं —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र बहादुर शाहीले भ्रष्टाचारका फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दै राप्रपाका प्रवक्ता समेत रहेका शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई इंगित गर्दै फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न आग्रह गरेका हुन्।
‘समीकरण मिलेन। केके उहाँहरूको सर्त मिलेन। सर्त नमिल्या हुनाले सरकार ढल्यो भने त भइहाल्यो नि । फाइल खोलेर एउटा मान्छे जेल हालेको छैन। कहाँ फाइल छ। न निर्मला पन्तको हत्यारा पक्राउ गरेको छ। न त जीवी राई पक्राउ पर्या छन्। न सहकारी ठगीका दोषी जेल गएका छन्। न नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जेल गएका छन्। कोही गएका छैनन्,’उनले भने,’ ठूलाठूला नेताहरू मिलेर नै सरकार ढलेको हो। फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्नुहोस्।’