• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा नवजात शिशु मृत्युको संख्या बढ्दै, दुई बर्षमा २० शिशुको मृत्यु

बाजुरामा नवजात शिशु मृत्युको संख्या बढ्दै, दुई बर्षमा २० शिशुको मृत्यु

  • बिहिबार, असार २७, २०८१
बाजुरामा नवजात शिशु मृत्युको संख्या बढ्दै, दुई बर्षमा २० शिशुको मृत्यु

टेक बहादुर बुढा —बाजुरामा नवजात शिशु मृत्युको संख्या बढ्दै गएको पाइएको छ । पछिल्लो चार बर्षको तथ्यांक अनुसार जिल्लामा नवजात शिशु मृत्युको संख्या हरेक बर्ष बढ्दै गएको देखिन्छ । स्वास्थ्य कार्यालय बाजुराको तथ्यांक अनुसार अघिल्लो दुई बर्ष भन्दा पछिल्लो दुई बर्षमा दोब्वरको संख्यामा नवजात शिशुको मृत्यु भएको छ ।

सरकारले हरेक बर्ष स्वास्थ्यलाई नै मुख्य प्राथमिकतामा राखेर करोडौं बजेट छुट्याएर कार्यक्रम सञ्चालन गरेपनि बाजुरा जस्ता विकट जिल्लामा भने नवजात शिशु मृत्यु हुनेको संख्या उकालो लाग्दै गएको छ । बाजुरा जस्तो दुर्गम ठाउँमा यातायातको सहज पहुँच र आर्थिक दूरवस्थाका कारण धेरैजसो बच्चा बाटोमै जन्मिने गरेका छन् ।

बच्चा जन्माउन गाउँकै स्वास्थ्य संस्थासम्म पुगेपनि रेफर गरेपछि भने आर्थिक अभावले सुविधायुक्त अस्पतालमा पुग्न नसकेर बाटोमै बच्चा जन्मिएका थुप्रै उदाहरणहरु छन् । गर्वावस्थामा स्वास्थ्य संस्था जानुपर्छ भन्ने थाहा नपाएर घरमै सुत्केरी गराउने परम्परा र जनचेतनाको अभावले शिशुको हेरचाहमा कमि हुने जस्ता पनि शिशुको मृत्यु हुदै आएको छ ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार आर्थिक बर्ष २०७७/७८ मा ४, ०७८/७९ मा २ नवजात शिशुको मृत्यु भएको जनाएको छ । त्यसै गरि आर्थिक बर्ष २०७९/८० मा ९ र ०८०/८१ मा ११ नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका तथ्यांक अधिकृत रुगुम थापाले बताएका छन् । उक्त तथ्यांक अनुसार जिल्लामा दिनप्रतिदिन मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गएको देखिन्छ ।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले भने “पहिले स्वास्थ्य संस्थाको संख्या कम हुँदा दुर्गमका नागरिकसम्म सहज रुपमा स्वास्थ्य सेवा पुग्न नसक्दा पनि शिशु मृत्युको संख्या कम देखिएको हुन सक्छ तर अहिले सहजै रुपमा स्वास्थ्य सेवाको पहुँचले पनि संख्या बढेको देखिन्छ ।” जिल्लामा मृत्युदर र स्वास्थ्य अवस्थाको वास्तविक तथ्यांक संकलनका लागि गत बर्ष सबै स्वास्थ्यकर्मीहरुका लागि मातृ तथा नवजात शिशु मृत्यु निगरानी कार्यक्रम सञ्चालन पछि मृत्युको संख्या बढेको  उनले बताए । जिल्लामा मुख्य रुपमा नवजात शिशु हरेचाह सम्बन्धी आम नागरिकमा जनचेतनाको कमी, स्वास्थ्य संस्थामा सुत्केरी हुने र २४ घण्टा सम्म स्वास्थ्य संस्थामा नबसेर सुत्केरी भए लगत्तै घर जाने लगायतका कारणले नवजात शिशुको मृत्यु हुने गरेको प्रमुख चन्दले बडिमालिका खबरलाई जानकारी दिए । उनका अनुसार बाजुरामा हरेक बर्ष ६ देखि ८ जना नवजात शिशुको मृत्यु भइरहेको छ ।

यो पनि पढ्नुहोस्ः

गर्भवतीले आफ्नो स्वास्थ्यको राम्रोसंग हेरचाह नगरेमा, हरेक स्वास्थ्य संस्थामा नवजात शिशुको लागि छुट्टै आइसियु बेडको सुविधा नहुँदा, नियमित गर्भजाचँ नगर्ने, स्वास्थ्य सेवाको पहुँचको कमि, पोषण र जनचेतनाको अभावलगायतका कारणले पनि पछिल्लो समयमा नवजात शिशुको मृत्युदरमा कमि नआएको स्वास्थ्यकर्मीको भनाई छ । जन्मदेखि नै बच्चाको स्याहारसुसारमा ध्यान, स्वास्थ्यकर्मीसंग परामर्श, हरेक स्वास्थ्य संस्थामा नवजात शिशुका लागि छुट्टै आइसियु बेडको सुविधा, सहज रुपमा स्वास्थ्य सेवाको पहुँच, पोषण तथा खानपानमा ध्यान दिएमा र सरकारले तोके अनुसार चार पटक नियमित स्वास्थ्य जाचँलगायतका कुरामा विशेष ध्यान दिनसके नवजात शिशुको मृत्युदर कम गर्न सकिने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार