• होमपेज
  • खेलकुद
  • अब कहिले खेल्छ नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ?

अब कहिले खेल्छ नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ?

  • मङ्लबार, असार २५, २०८१
अब कहिले खेल्छ नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ?

पछिल्लो डेढ वर्ष नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेटमा निकै ब्यस्त रह्यो । तीन साताअघि अमेरिका र वेष्टइण्डिजमा आईसीसी टी–२० विश्वकप २०२४ खेलेर फर्केको नेपालले तत्काल खेल्नुपर्ने अन्तर्राष्ट्रिय खेल छैन । वर्षायाम सुरु हुँदा तत्काल घरेलु मैदानमा सिरिज खेल्ने सम्भावना छैन ।

समाजिक सञ्जालमा नेपालले अर्को महिना अफगानिस्तानविरुद्ध सिरिज खेल्ने चर्चा चलेको छ । तर त्यो सत्य नभएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का बताउँछन् । अफगानिस्तानविरुद्ध सिरिज खेल्ने हालसम्म कुनै प्रस्ताव र निर्णय नभएको खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

क्यानको वार्षिक क्यालेन्डर सन् २०२४ लाई आधार मान्दा नेपालले अब सेप्टेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । क्यानडाअघि कुनै सिरिजको सम्भावना छ भन्ने प्रश्नमा खड्का भन्छन्, ‘हामी योजना निर्माणको क्षणमा छौं । कुनैपनि कुरा पक्का भएको छैन । हालसम्म शून्य जस्तै हो ।’

सेप्टेम्बरमा नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । त्यसपछि नेपाल, ओमान र क्यानडाबीच आईसीसी लिग–२ त्रिकोणात्मक सिरिज हुनेछ । लिग–२ त्रिकोणात्मक सिरिजपछि नेपालले क्यानडसँग दुई ओडीआई खेलको सिरिज खेल्ने तालिका छ ।

त्यसपछि नेपालले घरेलु मैदानमा सिरिज खेल्ने तालिका छ । तर कुन टोलीसँग खेल्ने क्यालेन्डरमा उल्लेख छैन । नेपाल अक्टोबरमा अमेरिका भ्रमणमा जानेछ । त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । आईसीसी विश्वकप लिग–२ मा नेपाल, अमेरिका र स्कटल्यान्ड भिड्नेछन् ।

नोभेम्बर १६ देखि डिसेम्बर ७ सम्म नेपाल प्रिमियर लिग हुनेछ । नेपालले डिसेम्बर १५ देखि ३० सम्म घरेलु मैदानमा टी–२० आई र ओडीआई सिरिज खेल्ने तालिका छ । तर कुन टोलीविरुद्ध भन्ने तय भएको छैन । डिसेम्बरमा नै फर्स्टक्लास (प्रथमश्रेणी) खेल नेपालले प्रस्ताव गर्ने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार