• होमपेज
  • अर्थ
  • राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

  • शुक्रबार, असार २१, २०८१
राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

काठमाडौं — राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।

जसलाई प्रतिनिधि सभाले असार ११ गते पारित गरेको थियो । शुक्रबार राष्ट्रिय सभाले पनि पारित गरेको हो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।

नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरिसकेका छन् । यो बजेट ल्याउँदा एमाले सरकारमै थियो । त्यसैले पनि बजेट निर्णयार्थ पेस हुँदा कसैले पनि हुन्न भनेनन् ।

बजेट पारित हुनु अघि अर्थमन्त्री वर्षमान पुनले भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेर बजेट आएको बताएका थिए ।

राष्ट्रिय सभाले अर्थमन्त्री पुनले प्रस्तुत गरेका बजेट आश्रित तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

जसमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक रहेका छन् ।

यी तीन वटा विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएका थिए ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा सत्तापक्षमा रहेका सांसदहरूले हुन्छ भन्ने पक्षमा मत प्रकट गरे भने विपक्षमा रहेका कांग्रेस सहितका सांसदहरू मौन रहे । त्यसपछि सभाध्यक्ष दाहालले तीन वटै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको घोषणा गरे ।

चर्चामा

सम्बन्धित समाचार