• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा सदरमुकाममा रात्रि अवतरण हेलिप्याड निर्माण

बाजुरा सदरमुकाममा रात्रि अवतरण हेलिप्याड निर्माण

  • शुक्रबार, जेष्ठ ३२, २०८१
बाजुरा सदरमुकाममा रात्रि अवतरण हेलिप्याड निर्माण

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी रहेकाे दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका बाजुरावासीले उद्धार तथा व्यवस्थापनमा समस्या हुने गरेकोमा अव केही राहत हुने भएको छ । हेलिप्याड निर्माणसँगै अब जिल्लाभित्रबाट उद्धार तथा राहतका कामहरु रात्रिकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ । हेलिप्याडको अभावमा वर्षौंदेखि समस्यमा पर्दै आएका बिरामीका लागि  जटिल हुनाका साथै लामो दुरी पार गर्नुपरेकाले राहतको काममा समेत ढिला हुँदै आएकोे थियो ।
बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहको सहयोग तथा नेपाली सेना दुर्गाभन्जन गुल्मको प्राबिधीक सहयोगमा थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र बहादुर सिंहले बताएका छन । सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले उक्त हेलिप्याड थापाथली ब्यारेकभित्र निर्माण गरिएको हो । सो हेलीप्याडको पृतनापती उपरथी गणेश कुमार श्रेष्ठले उद्घाटन गरेका छन ।
जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय र जिल्लाका सबै स्थानिय तहको आर्थिक सहयोगमा नाइट भिजन हेलिप्याड निर्माण संगै अस्पताल नजीकै रहेकाले बिरामी, विपद् र सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता होस् भन्ने उद्देश्यले उक्त हेलिप्याड निर्माण गरिएको पृतनापती उपरथी गणेश कुमार श्रेष्ठले बताए । “अब जतिखेर पनि बिरामीको उद्धार गर्न सकिने उपरथी श्रेष्ठले बताएका छन । विभिन्न दुर्घटनादेखि विपत्ति एवं महामारीका बेलामा रातको समयमा समेत आपत्कालीन अवस्थाका र सिकिस्त बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी ज्यान बचाउन एवं विपतको समयमा पीडितहरुको उद्धार एवं उनीहरुलाई राहत वितरण कार्यमा उक्त हेलिप्याडले सहयोग पुर्‍याउने पृतनापती उपरथी श्रेष्ठले बताएका छन ।
बडिमालिका नगरपालिका, बुढिगंगा नगरपालिका, त्रिबेणी नगरपालिका, बुढिनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका, गौमुल गाउँपालिका र खप्तडछेडेदह गाउँपालिकाको ६ लाख ३० हजार ८१ रुपैया लागतमा सो हेलिप्याडको निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन ।
बर्षातको मौसमसँगै बाजुराका अधिकांश सडकमा आउने पहिराले छ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपतमा परेकाले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका बाजुराबासीलाइ ठूलो राहत मिल्ने त्रिबेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले बताए ।
जिल्लाका नौ ओटै स्थानिय तहबाट बजेटको ब्यबस्थापन गरी नेपाली सेनाले नाइट भिजन हेलिप्याड निर्माण गरीएकोमा अव बाजुराका नागरिकले थप सुबिधा पाउने नागरिक अगुवा निमेन्द्र शाहीले बताए । नेपाली सेनाको पहलमा जिल्लाका बिभिन्न ठाउँमा अस्थायी हेलीप्याडको निर्माण गर्ने कार्य जारी रहेको छ । यता खप्तड छेडेदह गाउँपालिकामा भने अघिल्लो आर्थिक बर्षमै निर्माण गरिएको दुर्गाभन्जन गुल्मले जनाएको छ । कार्यक्रममा त्रिबेणी नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर थापा, बडिमालिका नगरपालिका उप प्रमुख नन्दा कुमारी थापा, पृतनापती उपरथी गणेश कुमार श्रेष्ठ, श्री नं ५ बाहिनी सहायक  महासेनानी युवराज केसी, प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुख सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी र पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार