• होमपेज
  • खेलकुद
  • नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी

नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी

  • शुक्रबार, जेष्ठ ३२, २०८१
नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी

आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी भएको छ। यो जितसँगै बंगलादेशले विश्वकपको सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको छ। समूह ‘डी’को बंगलादेशको यो दोस्रो जित हो। उसले यो जितसँगै चार अङ्क बनाएको छ। नेदरल्यान्ड्सले भने मात्र दुई अङ्क बनाएको छ। यो समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका ६ अंकसहित सुपर ८ प्रवेश गरिसकेको छ। यो समूहमा रहेको नेपाल र श्रीलंकाले भने समान एकएक अंक जोडेका छन्।

बिहीबार राति बंगलादेशले दिएको १६० रनको चुनौती पछ्याएको नेदरल्यान्ड्स २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३४ रनमा समेटिएको हो। सुरुमा ब्याटिङ गरेको बंगलादेशका लागि शकिब अल हसनले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका हसनले ९ चौकासहित नटआउट ६४ रन बनाए।

त्यस्तै तान्जिद हसनले २६ बलमा पाँच चौका र एक छक्कासहित ३४ रनको योगदान दिए। महमुदुल्लाहले २५ रन बनाउँदा जाकर अलीले १४ रन बनाए।

नेदरल्याण्डसका लागि आर्यन दत्त र पॉल भ्यान मिकरेनले दुईदुई विकेट लिए। १६० रनको लक्ष्य पाएको नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले सर्वाधिक ३३ रन जोडे। विक्रमजित सिंहले १६ बलमा २६ रन बनाए भने कप्तान स्कट एडवड्र्सले २३ बलमा २५ रनको योगदान दिए। माइकल लेभिटले १८, आर्यन दत्तले १५ रन जोड्दा म्याक्स ओ डाउडले १२ रन बनाए।

बंगलादेशका लागि रिसाद होसेनले तीन विकेट हात पारे। अब बंगलादेशले समूह चरणको अन्तिम खेल नेपालसँग खेल्नेछ।

चर्चामा

सम्बन्धित समाचार