• होमपेज
  • समाचार
  • गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • सोमवार, जेष्ठ २१, २०८१
गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं —अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

उनका अनुसार अख्तियारले मर्हजनसहित ४ जना कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाइ फरक-फरक शीर्षकमा पाँच थान मुद्दा दायर गरिएको हो। उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ।

गोदावरी नगरपालिका क्रसर,खानी तथा नदीजन्य पदार्थ (ढुंगा,गिटी बालुवा,वेस,चिप्स) आदिमा सरकारी दररेट भन्दा कम मात्र कर जम्मा गरी वार्षिक करोड राजश्व हिनामिना गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा करोडौं रकम हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

नगरप्रमुख महर्जन,नगर उपप्रमुख नमूना अधिकारी,तत्कालीन प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र तत्कालीन राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समितिका सदस्य सचिव श्रीराम आचार्यले २० करोड ४९ लाख ५३ हजार ७५० रुपैयाँ राजश्व हिनामिना गरेको अख्तियारले जनाएको छ।

उनीहरूबिरुद्ध प्रत्येक व्यक्तिलाई सोही रकमको दोब्बर जरिवाना सजायको माग गरिएको छ।

कर्मा कन्सट्रक्सन र सोको संचालक रवि महर्जनलाई मुख्य कसुरदार सरह सजायको माग गरिएको छ। उनीलाई २० करोड ४९ लाख ५३ हजार ७५० रुपैयाँ जरिवाना तोकिएको छ।

निराकार ढुंगा रोडा उद्योग प्रालि र सो को सञ्चालक मधुसुदन डोटेल,मछिन्द्रनाथ मल्टी प्रपोज प्रालि,सोको सञ्चालक केदारनाथ तिमल्सेना,सजिलो रोडा ढुंगा उद्यो प्रालि र सोको सञ्चालक शशिराज शाही,विरेन्द्र महर्जन ढुंगा उद्योग प्रालिका र सोको सञ्चालक वीरेन्द्र महर्जनलगायतविरुद्ध पनि राजश्व चुहावट रकमको दोब्बर जरिवाना माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

चर्चामा

सम्बन्धित समाचार