मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतीय प्रहरीको दाबी– मुठभेडमा २९ माओवादी मारिए

भारतीय प्रहरीको दाबी– मुठभेडमा २९ माओवादी मारिए

  • बुधबार, बैशाख ५, २०८१
भारतीय प्रहरीको दाबी– मुठभेडमा २९ माओवादी मारिए

भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् । छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो । सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो । पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो ।

बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो । भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा माओवादीलाई मार्न सफल भएको भन्दै प्रहरीलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘आज छत्तीसगढमा सुरक्षा बलको अपरेसनमा ठूलो संख्यामा नक्सली मारिएका छन् । यो अपरेसनलाई सफल बनाउने सबै सुरक्षाकर्मीलाई बधाई दिन्छु र वीर प्रहरीहरु घाइते छन्, उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

नक्सलवाद विकास, शान्ति र युवाहरुको उज्ज्वल भविष्यको सबैभन्दा ठूलो दुश्मन भएको भन्दै गृहमन्त्री शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशलाई नक्सलवादीहरुको आतंकबाट मुक्त गर्ने संकल्प लिइएको जानकारी पनि गराएका छन् । उनले भारत छिट्टै नक्सलवादीबाट मुक्त हुने पनि बताएका छन् । छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायले यो घटनालाई इतिहासकै सबैभन्दा ठूलो सफलता भनेका छन् ।

भारतीय प्रहरीका आईजी पी सुन्दरराजका अनुसार प्रहरी कारबाहीमा भारतीय माओवादी नेताहरु शंकर राव, ललिता माडवीसहित २९ जना माओवादीहरु मारिएका छन् । भारत सरकारले शंकर राव र ललिता माडवीको टाउकोको मूल्य २५-२५ लाख भारतीय रुपैयाँ तोकेको थियो ।

प्रहरीका अनुसार एके फोर्टिसेभेन, एन्सास, कार्बाइन लगायतका हतियारहरु पनि बरामद भएका छन् । प्रहरीले घाइते प्रहरीहरुको उपचार र घटनास्थलमा सर्च अभियान जारी रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार