मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन

गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन

  • आइतवार, चैत्र २५, २०८०
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन

पोखरा — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् ।

अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।

त्यसैले नेकपा एमाले संसदीय दलका नेता अधिकारी, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र मनाङ्गेसहित मुख्यमन्त्री कार्यालयमा पुगेका थिए ।

दाबी पेस गरेपछि नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेको जानकारी दिए । आफूहरुको दाबी संविधानसम्मत भएको पनि उनले बताए ।

प्रदेश प्रमुखले आजै अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्ने उनले विश्वास व्यक्त गरे ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सत्ता गठबन्धनका नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

चर्चामा

सम्बन्धित समाचार