शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मस्कोमा आक्रमणमा १३३ जनाको मृत्यु

मस्कोमा आक्रमणमा १३३ जनाको मृत्यु

  • मङ्लबार, चैत्र १३, २०८०
मस्कोमा आक्रमणमा १३३ जनाको मृत्यु

रुसको एउटा कन्सर्ट हलमा हतियारधारीले अन्धधुन्ध गोली चलाउँदा १ सय ३३ जनाको मृत्यु भएको छ भने १ सय ४० जना गम्भीर घाइते भएका छन्। शुक्रबार राति रुसको राजधानी मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्यान्डको कन्सर्टमा जम्मा भएका दर्शकमाथि अन्धधुन्ध गोली प्रहार भएको बीबीसीले जनाएको छ। आक्रमणकारीले स्वचालित हतियारबाट गोली चलाउनुका साथै विस्फोटक पदार्थको पनि प्रयोग गरेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्धधुन्ध गोली चलाउने चार जनालाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिएका छन्। पुटिनका अनुसार घटनालगत्तै युक्रेनतर्फ भाग्न लागेका उनीहरूलाई रुसी सुरक्षाफौजले पक्राउ गरेको हो। उनले आक्रमणलाई ‘बर्बर आतंकवादी कृत्य’ भनेका छन्। उनले आइतबार राष्ट्रिय शोकको घोषणा पनि गरेका छन्। यसैगरी रुसी मानव अधिकार आयोगले पनि यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

कन्सर्टअघि हलमा भेष बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो। हमला गरिएको भवनमा आगलागी हुँदा धेरै मानिस भित्रै फसेका थिए। घटनास्थलबाट सुरक्षाकर्मीले १ सय ४५ जनाको उद्धार गरी स्वास्थ्य संस्थामा पठाएको जनाइएको छ। सुरक्षाकर्मीले ६ घन्टा लगाएर त्यहाँको आगो निभाएका थिए। मस्कोको सबैभन्दा लोकप्रिय कन्सर्ट हलमा ६ हजार २ सय मानिस अटाउने क्षमता भए पनि त्यहाँ कति मानिस थिए भन्ने एकिन भइनसकेको जनाइएको छ। घटनामा युक्रेनको संलग्नता रहेको रुसले आरोप लगाएको छ।

चर्चामा

सम्बन्धित समाचार