• होमपेज
  • सुचना प्रबिधी
  • बदली र वर्षाको सम्भावना शनिबारसम्मै

बदली र वर्षाको सम्भावना शनिबारसम्मै

  • बिहिबार, चैत्र ८, २०८०
बदली र वर्षाको सम्भावना शनिबारसम्मै

काठमाडौं– मौसमविदहरुले शनिबारसम्मै देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार मौसममा थोरै सुधार जस्तो देखिए पनि शनिबारदेखि फेरि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले मंगलबार रातिदेखि नै नेपालका पूर्व र मध्य भागमा बदली र वर्षा हुँदै आएको छ । बुधबार दिनभरजसो पानी परेको थियो । यो क्रम आज बिहीबार पनि जारी रहने मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार विहीबार बिहान कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । काठमाडौं उपत्यकामा आज बिहान पानी पर्न रोकिए पनि दिउँसो एक/दुई बजे पछाडि वर्षा सुरु हुने मौसमविद पुडासैनीले बताए ।

उनका अनुसार आज दिनभरी नै देशका अधिकांश स्थानमा बादल लाग्ने छ । ‘बुधबार र बिहीबारको तुलनामा शुक्रबार अलिकति सुधार जस्तो हुन्छ । तर उल्लेखनीय सुधार हुँदैन,’ मौसमविद पुडासैनीले भने, ‘शनिबार फेरि वर्षा हुने छ ।’

शनिबारको दिन पश्चिमी वायु अझ बढी सक्रिय हुने भएकाले कोशी प्रदेशका केही स्थानमा, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताए ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली (इन्ड्युस्ड लो प्रेसर सिस्टम)को प्रभाव छ । यसैको प्रभावले बदली र वर्षा भएको हो । अहिले पश्चिमी न्यून चापीय प्रणाली कम सक्रिय छ । त्यसैले अहिलेको बदली र वर्षा हुनुमा बिहार आसपास रहेको न्यून चापीय प्रणाली बढी जिम्मेवार छ ।

सुदूरपश्चिम र कर्णालीमा भने तुलनात्मक रुपमा कम प्रभाव छ । त्यसैले ती प्रदेशमा बादल लागे पनि वर्षाको सम्भावना भने कम रहेको मौसमविद पुडासैनीले बताए ।

धनकुटाको पाख्रिबासमा सबैभन्दा धेरै वर्षा

काठमाडौंको बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको कार्यालय
गत चौबिस घण्टामा धनकुटाको पाख्रिबास स्टेसनमा भारी वर्षा भएको रेकर्ड छ । पाख्रिबासमा ५२.४ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

इलामको राँकेमा ४६.२, सिन्धुलीको रानिबास ४५.८, सिरहाको गोलबजारमा ४३.८, खोटाङ बजारमा ४२, जनकपुर विमानस्थलमा ३७, सप्तरीमा ३५.४ र रौतहटको गौरमा २६.८ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकामा सबैभन्दा धेरै वर्षा ललितपुरको लेलेमा रेकर्ड भएको छ । लेलेमा २१.६ मिलिमिटर वर्षा भएको छ ।

ललितपुरकै गोदावरीमा २०.२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३, बबरमहलमा १२, कीर्तिपुरमा र धाप ड्याममा ११.८ तथा कपनमा ९.६ मिलिमिटर वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान ८ः४५ बजे वर्षाको आधिकारिक विवरण सार्वजनिक हुने भएकाले त्यो समयमा तथ्याङ्कमा केही फरक पर्न सक्ने महाशाखाले जनाएको छ ।

किसानलाई फाइदा, डढेलो नियन्त्रणमा राहत

अहिले प्रिमनसुन अवधि हो । यो अवधिमा हावाहुरी चल्ने, चट्याङ पर्ने र वर्षा हुने हुन्छ । त्यसैले अहिलेको यो अवस्थालाई स्वाभाविक रुपमा लिनुपर्ने मौसमविद बताउँछन् ।

प्रिमनसुन सिजनमा हुने वर्षाले बालीनालीलाई फाइदा पुग्ने कृषि क्षेत्रका वैज्ञानिकहरु बताउँछन् । हिउँद अवधिमा पर्याप्त पानी नपर्दा किसानहरु मर्कामा परेका थिए । मधेश प्रदेशमा करिब ६ महिनापछि वर्षा भएकाले स्थानीय किसानले राहत महसुस गरेका छन् ।

अहिलेको वर्षाले जंगलमा लागेको डढेलो नियन्त्रणमा पनि राहत पुगेको छ । ‘आज देशका अधिकांश स्थानमा परेको हल्का वर्षाले डढेलो नियन्त्रणमा थोरै भए पनि राहत मिलेको छ । तर, सधैं यो सुविधा प्राप्त हुन्न,’ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले भने ।

चर्चामा

सम्बन्धित समाचार