शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • रास्वपाको निर्णय : मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने, अनियमितता गर्नेलाई पार्टीबाट निष्कासन गर्ने

रास्वपाको निर्णय : मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने, अनियमितता गर्नेलाई पार्टीबाट निष्कासन गर्ने

  • आइतवार, चैत्र ४, २०८०
रास्वपाको निर्णय : मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने, अनियमितता गर्नेलाई पार्टीबाट निष्कासन गर्ने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ ।

पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठकले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा. स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गर्दछ ।

आज बसेको समितिको दोस्रो बैठकले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी खारेजसम्म गर्न सकिने निर्णय पनि गरेको ढकालले बताए ।

राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने र मेरिटोक्रेसीलाई प्रधान मान्ने लगायतका निर्णय समेत गरेको ढकालले जानकारी दिए । ‘राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ । यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेशितालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानी अघि बढाइने छ,’ महामन्त्री ढकालले भने ।

बैठकमा मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव र कमजोरीबारे समीक्षा गर्नुका साथै मन्त्रालयका बजेट, नीति तथा कार्यक्रम र तत्कालका लागि संशोधन गर्नुपर्ने नियम एवं साझा न्युनतम कार्यक्रमबारे समेत छलफल भएको रास्वपाले जनाएको छ । अनलाइन खबरबाट

चर्चामा

सम्बन्धित समाचार