बाजुरा– बाजुरामा यहि फागुन १३ देखि १५ गतेसम्म दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रमको फागुन १३ देखि चैत्र ७ सम्म सञ्चालन हुने अभियान अनुसारमा बाजुरामा फागुन १३, १४ र १५ गते दादुरा-रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको हो ।
बुधवार स्वास्थ्य कार्यालय बाजुराले आयोजना गरेको दादुरा-रुबेला खोप अभियान२०८०।८१ सम्बन्धी अन्तक्रिया कार्यक्रममार्फत जानकारी दिइएको थियो । सो अभियान सम्बन्धी जिल्ला खोप समन्वय सरोकारवाला तथा सञ्चारकर्मीसंग अन्तरक्रिया गरेको छ । सो अभियानमा ९ महिनादेखि ५ बर्षमुनिका बालबालिकालाई दादुरा-रुबेला रोग बिरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । खोप अभियानका लागि तयारी भइरहेकाले त्यसका लागि सुझाव सल्लाहका अन्तक्रिया कार्यक्रम गरेको जनाएको छ ।
सो अभियानमा जिल्लाका ९ वटै पालिकाका १सय ६५ खोप केन्द्रमा १३ हजार ९ सय ४२ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । त्यस्तै उक्त अभियानमा १ सय ६५ स्वास्थ्यकर्मी र २ सय ३० स्वयसेवक परिचालन गरिने जनाएको छ ।
जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम बारे जानकारी स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले गराएका थिए भने कार्यक्रम सचालन रुगम थापाले गरेका थिए ।
।