आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश ३
  • अधिवेशन स्थगित गरेर धादिङका एमाले नेताहरु ओलीलाई भेट्न काठमाडौंमा

अधिवेशन स्थगित गरेर धादिङका एमाले नेताहरु ओलीलाई भेट्न काठमाडौंमा

  • आइतवार, माघ २१, २०८०
अधिवेशन स्थगित गरेर धादिङका एमाले नेताहरु ओलीलाई भेट्न काठमाडौंमा

काठमाडौं— जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

अध्यक्ष ओलीले त्यहाँका नेतााहरुसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् । ‘हामी च्यासल आइपुगेका छौं । अब छलफल सुरु हुन्छ’, एमालेको धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए ।

अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।

प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी दिएका थिए ।

अर्थात् गत १९ माघमा सुरु भएको जिल्ला अधिवेशनमा प्रदेश अध्यक्ष ढुंगेल र जिल्ला अध्यक्ष त्रिपाठीको फरक–फरक सूचना आएको थियो ।

यसपछि पार्टी अध्यक्ष ओलीले दुवै पक्षका नेताहरुलाई छलफल गर्न च्यासल बोलाए । ‘पार्टी अध्यक्षकै निर्देशन आएपछि अहिले जिल्ला अधिवेशन स्थगित गरेर नेताहरु च्यासल पुग्नुभएको छ । यहाँ प्रतिनिधिहरु अलपत्र छन्’, एक नेताले भने ।

धादिङको यो विवाद भने अध्यक्ष मण्डल चयनबाट सुरु भएको थियो । जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा जिल्ला सहइन्चार्ज रेशम लामा, केन्द्रीय सदस्य जानुका सिंखडा र प्रदेश सदस्यहरु धनबहादुर घले र ध्रुबराज विक रहेको अध्यक्ष मण्डल घोषणा गरेका थिए ।

तर प्रदेश अध्यक्ष ढुंगेल पक्षधर नेताहरु खेम लोहनी, रमेश आचार्य लगायतले यो सूचीप्रति आपत्ति जनाए । उनीहरुले प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा हुनुपर्ने अडान लिए ।

यही विवादका कारण अधिवेशन अगाडि बढ्न सकेन । पछि लामो छलफल पछि देवकोटा अध्यक्ष रहेकै अध्यक्ष मण्डलमा प्रदेश अध्यक्ष कैलाल ढुंगेल र प्रदेश सचिव नवराज सिलवाल थप्ने सहमति जुट्यो ।

अध्यक्ष मण्डलबाहेक प्रतिनिधि चयनमा पनि विवाद देखिएको थियो । तर छलफल गरेर यसमा पनि सहमति जुटाइएको नेताहरु बताउँछन् ।

२९ जना मनोनित भएकामा ४ जना त्रिपाठीले इतर समूहलाई दिएका थिए । त्यसपछि आइतबार बिहान ८ बजे अधिवेशन अगाडि बढाउने सहमति जुटेको थियो ।

तर प्रदेश अध्यक्ष ढुंगेलले बक्तव्य मार्फत् अधिवेशन स्थगित भएको सूचना जारी गरेपछि विवाद थप बढेको छ ।

कार्यकर्ताले अधिवेशनमा अपनाइएको शैली मन नपराएकाले स्थगित गरेर फर्किनु परेको ढुंगेल बताउँछन् । ‘जुन लचकता अपनाइनुपर्ने थियो । त्यस्तो नदेखिएपछि प्रतिनिधिहरुले नरुचाएको अधिवेशन स्थगित गरेर आएको हुँ । अर्को सूचना आएपछि अब कसरी अगाडि बढ्ने भन्ने थाहा हुन्छ’, ढुंगेलले भने ।

चर्चामा

सम्बन्धित समाचार