बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • केन्यामा ग्यास बोकेको ट्रक विस्फोट : दुई जनाको मृत्यु,२०० भन्दा बढी घाइते

केन्यामा ग्यास बोकेको ट्रक विस्फोट : दुई जनाको मृत्यु,२०० भन्दा बढी घाइते

  • शुक्रबार, माघ १९, २०८०
केन्यामा ग्यास बोकेको ट्रक विस्फोट : दुई जनाको मृत्यु,२०० भन्दा बढी घाइते

केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका केन्याका सरकारी उच्च अधिकारीले शुक्रबार बताएका छन्।

सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन्, ‘विस्फोटले आगोको ठूलो लप्काले शहरको बीचमा रहेका सवारी साधन र आवासीय भवनहरूलाई भेटेको र घटनामा समाचार तयार पार्दासम्म कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। विस्फोटपछि आगोको लप्का व्यापक रूपमा फैलिएको छ। फलस्वरूप, आगोले धेरै साना र मझौला आकारका व्यवसायसहित धेरै सवारी साधनहरू र व्यावसायका लागि राखिएका समानमा थप क्षति पुर्‍याएको छ। घटनास्थल वरपरका आवासीय घरहरूमा पनि आगो लागेको छ। घटना रातिको समय भएकोले धेरै बासिन्दा घरभित्र रहेकोले ठूलो सङ्ख्यामा हताहत भएको पाइएको छ।’

दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको र अन्य २२२ जनालाई राजधानीका विभिन्न अस्पतालमा लगिएको सरकारी प्रवक्ताले जानकारी दिए।

यसअघि केन्या रेडक्रसले करिब ३०० जना घाइते भएको जानकारी दिएको थियो।

घटनास्थलमा उपलब्ध एएफपीका पत्रकारका अनुसार अग्निनियन्त्रकहरूले स्थानीय समयअनुसार बिहान ७ :०० बजेसम्म आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए। त्यस क्षेत्रबाट कालो धुवाँको ठूलो मुस्लो निस्किरहेको देखिएको थियो।

राजधानीको दक्षिणपूर्वी क्षेत्रमा बिहीबार राति आगलागी भएको थियो। स्थानीय सञ्चार माध्यमले प्रसारण गरेको तस्बिरमा धेरै घरनजिकै ठूलो आगोको गोला देखिएको छ।

एएफपीका एक पत्रकारका अनुसार धेरै घर र सवारी साधन जलेका छन्। ‘हामी घरमा थियौं र ठूलो विस्फोटको आवाज सुन्यौं,’ आगो लागेको ठाउँको छेउछाउमा बस्ने जेम्स एनगोगेले एएफपीलाई बताए।

उनले भने, ‘विस्फोटका कारण आएको आवाज र ठूलो कम्पनले पूरै भवन हल्लिएको थियो, यो ढल्न लागेको जस्तो लाग्यो। सुरुमा त हामीलाई के भइरहेको छ भन्ने पनि थाहा थिएन, यो भूकम्पजस्तै थियो।’

घटनापछि घटनास्थल वरपरका धेरै बासिन्दाले घरबाहिर अलि टाढा गएर रात बिताएका थिए। सञ्चारमाध्यमले देखाएका भिडियो तथा तस्बीरमा प्रहरीले प्रभावित क्षेत्रलाई घेरेको छ तर केही मानिसहरूले आफ्ना सामानहरू सङ्कलन गरेको र क्षतिको सर्वेक्षण गरेको देख्न सकिन्छ।

‘घटनास्थल सुरक्षित भइसकेको छ र उद्धार र अन्य हस्तक्षेप प्रयासमा सहयोग पुर्‍याउन कमाण्ड सेन्टर बनाइएको छ,’ मवौराले भने।

यसअघि, सन् २०१८ मा नैरोबीको जिकोम्बा बजारमा भएको आगलागीमा परी १५ जनाको मृत्यु भएको थियो भने ७० जना घाइते भएका थिए। अन्नपूर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार