• होमपेज
  • राजनीति
  • २१ विकास आयोजनामा रास्वपाले पदयात्रा गर्ने

२१ विकास आयोजनामा रास्वपाले पदयात्रा गर्ने

  • आइतवार, पुस २९, २०८०
२१ विकास आयोजनामा रास्वपाले पदयात्रा गर्ने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माणको काम सुस्त रहेका २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने भएको छ ।

विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिए । कुन कुन आयोजनामा पदयात्रा गर्ने भन्ने टुंगो रास्वपाको ३ माघमा बस्ने केन्द्रीय समितिले लगाउनेछ ।

‘अलपत्र भएका जुन सुकै आयोजना पनि हुनसक्छ । पदयात्रा गर्ने सडक आयोजना मात्रै होइन, उपसभापति अर्यालले अनलाइनखबरसँग भने, ‘पटक पटक अवधि थपिएको, सम्पन्न हुन नसकेको योजनाहरुमा पदयात्रा गरेर सरकारलाई खबरदारी गर्ने तयारी हो ।’

पदयात्रामा केन्द्रीय नेता र सांसदहरु सहभागी हुने अर्यालले जानकारी दिए । ‘सांसदसहित नेताहरु को कहाँ जाने निर्णय बैठकबाट लिन्छौं’, उनले भने ।

यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले २१ वटा आयोजनामा पदयात्रा गर्ने घोषणा गरेका थिए । उनले पार्टीका २१ जना सांसदले एक एक वटा आयोजनाको जिम्मा लिएर पदयात्रा गर्ने बताएका थिए ।

यसअघि पुस ९ गतेदेखि रास्वपाले विस्तारको काम भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डको ११३ किलोमिटरको पदयात्रा गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार