लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लाको दशै तिहार पछिको दोस्रो ठुलो चाड भुवा पर्व हिजाे साँझबाट विधिवत् रूपमा सुरु भएको छ। पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। बाजुराका विभिन्न ठाउँमा यसरी भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै राैनकता छाएको छ ।
यो भुवा कैको
पाँच पौण्डु देउको
का बाट उब्जी
मन्त लोक उब्जी
त्याँ बाट इन्द्रका बार
इन्द्रका बार भुवा खेलायो….।
पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको रौनक छाउन थालेको छ । भुवा पर्व पुषेऔसीका दिनबाट सुरु हुन्छ। पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुडा बाल्ने चलन रहेको छ। जसमा पाण्डव र कौरवको लडाइ र वीर गाथा गाउने चलन छ।
साथै यो पर्वमा छरछिमेकहरूले आ–आफनो घरमा मिष्ठान्न परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । दसैंपछिको ठूलो पर्वका रूपमा लिइने यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ । हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घर–घरमा गई भोस्को खेलिने हुँदा जसबाट घरमा सम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ ।
तीनदेखि पाँचदिनसम्म मनाइने पर्व जिल्लाका बह्मतोला, मार्तडी, आटीचौर, बाह्विस, जुगाडा, कुल्देवमाण्डौ लगायतका क्षेत्रमा विशेष महत्वका साथ खेल्ने गरिन्छ। पौराणिक कालमा पाण्डव र कौरव बिच भएको लडाइको सम्झना स्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको छ। यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ। भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ। लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ।
भुवाको सुरुको दिनको राती राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्ध कला प्रदर्शन गर्ने प्रचलन रहेको छ। भू क्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ। जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रूपमा पनि विश्लेषण गरिएको छ।
पुरुषहरूको पर्वका रूपमा लिइने यस पर्वलाई पछिल्लो समयमा महिलाहरूले पनि हातमा तरबार ढाल लिएर खेल्ने गरेको पाइन्छ। भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा बाजुरा बासीले दशै तिहार भन्दा बढी महत्वका साथ मनाउने गर्दछन्। यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान्, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ।
महाभारतको युद्धकालदेखि यो पर्व आरम्भ भएको विश्वास गरिन्छ। त्यो बेला भएको धर्मयुद्धमा पाण्डवको विजयी भएपछि खुसीयाली स्वरूप विजययात्राका रूपमा यो पर्व मनाइने प्रचलन रहेको किंबदन्ती छ। यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो। हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजासहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर-घरमा गई ‘भोस्को’ समेत खेल्ने गर्छन्। ‘भोस्को’ खेलका माध्यमबाट समाजका विकृति-विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने विश्वास गरिन्छ।
यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढने जनविश्वास छ। भुवा खेल्ने स्थानमा देवीलाई पूजा-आजा गरी बलीसमेत चढाई सकेपछि भुवा पर्वको विसर्जन गरिन्छ भुवा विसर्जन गर्ने कार्यलाई स्थानीय भाषामा भुवो सेलाउने पनि भन्ने गरिन्छ । पहिलेका दिनहरूमा राजा रजौटाहरूले आफ्ना भाइ भारदार लगाय जनताहरूलाई आत्म रक्षाको लागि खेतीको काम सकाएर फुर्सतको समयमा ढाल तरवार खेल्न सिकाउनको निमित्त भूओ अथवा भस्सो खेलाउने गरेको र हाल यो पर्व मनोरञ्जनको लागि मनाईएको पाइन्छ ।