सिनियर सर, म्यामहरु गैसक्नुहुथ्यो, विद्यालयमा अन्तिमसम्म बसेर मैले काम गर्नुपर्थ्यो । जुनियर कर्मचारीको कामको समयाअवधि थिएन । काम नसक्नुञ्जेल जति बजेसम्म बसेर पनि गर्नुपर्थ्यो ।
शिक्षकहरुको ४ बजे छुट्टी हुन्थ्यो । तर, एकाउन्टमा हरेक दिन दिनभरको हिसाब–किताब गर्नुपर्ने हुँदा ५/६ बजेसम्म वा काम नसकिँदासम्म काम गर्नैपर्ने हुन्थ्यो ।
क्याबिनमा बसेर काम गर्दै गर्दा संयोग आइपुग्यो । ऊ कक्षा १० मा पढ्ने विद्यार्थी । स्कुलकै होस्टलमा बस्थ्यो । एसईई दिने बेलामा प्रायः सबै विद्यार्थी होस्टलमा बस्छन् तर ऊ कक्षा चारदेखि नै होस्टलमा बसेको थियो ।
होस्टलमा सबैभन्दा पुरानो विद्यार्थी उही थियो । त्यसैले उसले अरुलाई थर्काउने, हप्काउने गथ्र्याे । उपद्रो गर्नमा एक नम्बर थियो । ऊ कुनै शिक्षकसँग पनि डराउँदैनथ्यो । शिक्षक उसँग डराउथे । उसलाई सम्हाल्न नसकेर केही शिक्षकले जागिर छोडेकोसमेत कुरा चल्थ्यो ।
स्कुलको प्रिन्सिपल म्यामको भने ऊ छायासँग पनि तर्सिन्थ्यो । उसले बदमासी गर्दा शिक्षकहरुले प्रिन्सिपलकै नाम लिनुपर्ने स्थिति थियो । व्यवसायीको छोरो थियो, पैसाको कुनै कमी थिएन । दुःख भन्ने थाहै नभएकाले पनि होला, ऊ संयम र अनुशासनमा जिरो थियो ।
‘होस्टलबाट हेर्दा एकाउन्ट सेक्सनमा लाइट बलिरहेको देखेँ, तपाई नै हुनुहोला भनेर आएको ।’ उसले भन्यो ।
मैले उसलाई मैले होस्टलमा फर्किन भनेँ तर मानेन । शिक्षकहरुलाई नै नटेर्ने उसले म एकाउन्टेन्टलाई के टेर्नु ।
उसलाई भगाउने उपाय नलागेपछि म आफ्नै काममा व्यस्त भएँँ ।
ऊ प्रिन्सिपलको कुरा काट्न थाल्यो ।
‘मिस, तपाईलाई थाहा छ ? हाम्रो एमडी सरले म्यामलाई (प्रिन्सिपल) बिहान कफी बनाएर बेडमै लगिदिनुहुन्छ । म्याम सारै छुची हो । बिहान उठेर बुढीले पो बुढालाई कफी दिने हो त । यहाँ उल्टो छ । कहिलेकाँही त सरले म्यामलाई आफ्नै हातले भात खुवाइदिनुहुन्छ । म लुकीलुकी हेर्छु । हामी विद्यार्थीलाई मात्रै होइन, आफ्नै बुढोलाई पनि यिनले अत्याचार गरेकी छन् ।’
मैले सम्झाउने प्रयास गरेँ ।
‘त्यो अत्याचार होइन, श्रीमान–श्रीमतीबीचको प्रेम हो । भोलि ठूलो भएपछि थाहा हुन्छ तिमीलाई यस्तो प्रेमका बारेमा । र, अर्को कुरा म्याम र सर मात्रै होइन, कसैको पनि व्यक्तिगत क्रियाकलापमा यसरी निगरानी गर्न हुँदैन ।’
ऊ केहीबेर एकाउन्टमा घुमिराख्यो । र, निस्केँ पनि नभनी निस्कियो ।
हेल्थ पठाउने सरले अचानक जागिर छोड्नुभयो । म्यानेजमेन्टसँग केही कुरा मिलेको थिएन । उहाँले विना सूचना जागिर छोड्दिँदा कक्षा रोकियो ।
म्यामले सबै कर्मचारीलाई मिटिङमा बोलाउनुभयो । अर्को शिक्षक नपाउञ्जेल कसैले कक्षा हेर्दिनुपर्ने उहाँको कुरा थियो । सबै शिक्षकको व्यस्तता र विषय विज्ञताको कमीले गर्दा पढाउन सक्ने स्थिति आएन ।
अन्तिममा त्यो जिम्मेवारी मेरैमा आयो । नौ र दश कक्षामा दुई पिडियड हेर्दिनुपर्ने भयो ।
मलाई कहिल्यै पढाउँछु भन्ने थिएन । भोलिपल्टबाट कक्षा लिनुपर्ने । रातभर निन्द्रा लागेन । तर, जिम्मेवारी लिइसकेपछि पछाडि हट्ने कुरा भएन ।
पहिलोपटक कक्षा १० लाई पढाएँ ।
त्यो दिन संयोगले कत्ति पनि हल्ला गरेन । मलाई उसैको डर थियो । उसैलाई कक्षामा सम्हाल्न नसकेर बेइज्यत पो हुन्छ कि भनेर तर्सिरहेकी थिएँ । विद्यार्थी सम्हाल्न नसकेर जागिर छोड्नुपर्ने युगमा पो छु म त ! तर अरु शिक्षकले भनेजस्तो उसले कत्ति पनि हल्ला गरेन ।
अर्कोपटक पनि एकाउन्टमा कोही नभएका बेला ऊ आयो । त्यो दिन उसले मलाई थोरै राम्री बनेर हिँड्नु भन्यो ।
उसको कुरा सुनेर मलाई रिस उठ्यो । मलाई आफू नराम्री लागेकै थिएन । तर, त्यो फुच्चेले त्यसोभन्दा रिस उठ्यो । जुरुक्क उठेँ र तँ यहाँबाट गैहाल् भनेँ ।
उसलाई थर्काएँ, ‘तँ पाजीले सल्लाह दिनुपर्छ ? कति बनेर हिँड्नुपर्छ, मलाई थाहा छ । अब आइन्दा एकाउन्डको बिल्डिङमा छिरिस् भने प्रिन्सिपल म्यामलाई कम्प्लेन गर्दिछु । तेरो ममी नै हिरोइन, म त नराम्रो लागिहाल्छु नि ।’
‘मेरो स्टेप मम हो, केही राम्री छैन । खै ड्याडीले के हेरेर बिहे गर्या होला ? मेकअपविना हेर्नुभयो भने तपाई बहोस हुनुहुन्छ ।’ फेरि उसले मलाई राहत दिने कुरा गर्यो ।
उसले थप्यो, ‘मलाई मेरी ममीको धेरै याद आउँछ । ड्याडले अर्को बिहे गरेपछि मेरो खासै ख्याल गर्नुहुन्न । पैसा पठाइदिनुहुन्छ, त्यत्ति हो । होस्टलबाट त्यति बाहिर निस्कन पनि पाइँदैन । मेरो त गफ गर्ने मान्छे पनि छैन ।’
यो आवाराले यस्तो गम्भीर कुरा गर्छ भनेर मैले सोचेकै थिइनँ । त्यो पल मलाई उसको कपाल मुसार्दै एक्लो महसुस नगर्नू भन्न मन लागिसकेको थियो । तर, हिम्मत नै आएन । म उसकी मिस हुँ भन्ने कुरा बिर्सेँ भने उसले भोलि कक्षामा टेर्दैन भन्ने कुराले मैले आफ्नो भाव व्यक्त गरिनँ ।
उसका बाबुआमा दुवै सेलिब्रेटी थिए । आमाको स्वर्गबास भैसकेको थियो । हालकी कान्छीआमा थिइन् ।
प्रायः उनका अभिभावक ६/७ महिनासम्म छोराको स्कुल फी तिर्न आउन भ्याउँदैन थिए । फोन गरेर सम्झाउँदा पनि अहिले भ्याइएन, पछि आउँछु भन्ने जवाफ आउँथ्यो । बिलमा फाइन जोडेर पठाउँदा पनि आउन फुर्सद हुँदैनथ्यो उनीहरुलाई ।
एकपटक ८ महिनाको बिल तिर्न र छोरा भेट्न उनका बुवा आए ।
उनले मेरा लागि पनि कलम र चकलेट ल्याएका थिए । घरमा जाँदा छोराले मेरो बारेमा कुरा गर्ने रहेछ । यत्रा मिस छन् स्कुलमा तर तपाईको कुरा नगरी बस्न सक्दैन । आज त तपाईको पनि दर्शन गर्न आएको भने ।
उसका ड्याड यो धर्तिमा मेरो छोराको चिन्ता मलाई बाहेक अरु कसैलाई छ भने त्यो तपाई हो भन्थे । यता छोराको एक्लोपनको कथा पनि मैले नै सुन्नुपरेको थियो । उसका बुवाले पनि मेरो छोराको चिन्ता मलाईपछि तपाईलाई छ भन्दा एउटा गरुङ्गो भारी बोकेको आभाष भयो ।
एक दिन केटाले भन्यो, ‘मिस काठमाडौंमा कसैले तपाईलाई जिस्कायो वा केही गर्यो भने मलाई भन्नु है ।
के गर्छस् र ?
म तिनीहरुको हातखुट्टा भाँचिदिन्छु ।
तैँले आफ्नै हातखुट्टा सम्हाल्न थालेको धेरै भएको छैन, हिरो हुन पर्दैन ।
बिहान हजुर स्कुल आउदैँ गर्दा घट्टेकुलो चोकमा बसेका केटाहरुले तपाईलाई जिस्काइरहेका थिए । भोलि मेरा साथीहरु लिएर जान्छु, तिनीहरुलाई हान्न ।
उसको कुरा सुनेर म छक्क परेँ । चोकैपिच्छे आवारा केटाहरुले जिस्काउँदा पनि सुनेको नसुन्यै गरेर हिँड्नुपर्ने केटी मान्छेको बाध्यता हो । हामीलाई बानी लागिसकेको हुन्छ । भुक्ने कुकुरलाई ढुङ्गाले हान्दै हिँडेर समयमा स्कुल कसरी पुगिएला ?
छोरीलाई पो घरमा संस्कार सिकाइन्छ । आजसम्म कुन घरका अभिभावकले बाटोमा हिँडिरहेकी केटीलाई जिस्काउनु हुँदैन, दुःख दिनु हुँदैन भनेर सिकाएको छ र ? ? केही केटा वंशानुगत अनुशासित हुन्छन् । तर, अधिकांश केटा चोकमा बसेर केटी जिस्काइनुलाई मनोरञ्जन नै मान्छन् ।
मैले उसलाई सोधेँ, ‘आफ्नी मिसलाई केटाहरुले जिस्काएको मन परेन ? आफूले कहिल्यै क्लासका केटीहरु जिस्काएको छैनस् ?’
‘साथीहरुको लहैलहैमा लागेर जिस्काएको छु । प्रमिस मिस, अबदेखि जिस्काउदिनँ ।’
मलाई उसको कुरा सुनेर खुसी लाग्यो । कमसेकम चोकमा बसेर केटी जिस्क्याउने काम राम्रो होइन भनेर उसले बुझ्यो ।
उसले अभिभावकको समय पाएको थिएन । सबथोक भएर पनि ऊ रित्तो थियो । ऊ भन्दा सायद ५ देखि ७ वर्ष जेठी थिएँ होला । मलाई उसको अभिभावकजस्तो फिल भैरहेको थियो । कता–कता आफ्नो छोरा जस्तो लाग्ने, बच्चा जस्तो लाग्ने भएको थियो ।
ऊ हरेक दिन एकाउन्टमा आउन थाल्यो ।
मलाई पनि पहिलेभन्दा केही सहज लाग्दै गएको थियो ।
एकदिन उसले घरमा तपाईलाई खाना खाने गरी बोलाउनुभएको छ भन्यो । अब विद्यार्थीको घरमा खाना खाँदै हिँड्ने कुरा भएन । फेरि उसका बुबाको विभिन्न हिरोइनहरुसँग अफेयर छ भनेर समाचार आइरहन्थ्यो ।
उनी सेलिब्रटी थिए । उनीहरु एक अर्कासँग नाम जोडिएर समाचार आउनुलाई सामान्य मान्थे । तर, म त गाउँकी किसानको छोरी । कसैसँग नाम जोडियो कि सकियो । त्यसैले खाना खाने प्रस्ताव टार्दै आएँ ।
एक दिन एकाउन्टमा अलि निराश हुँदै आयो । सोधेँ, ‘के भयो ?’
उसले नरिसाउने सर्त राख्यो । यस्तो बच्चोसँग किन पो रिसाउँथे । मैले नरिसाउने बताएँ ।
उसले मलाई सोच्नै नसक्ने कुरा गर्यो ।
‘मिस तपाई मलाई धेरै मन पर्छ, हामी लभ गरौँ न ।’
म उसको कुरा सुनेर थर्रथराउन थालेछु ।
आफूले सानै सोचेको, बच्चै मानेको आफ्नै विद्यार्थीले यस्तो कुरा राख्ला भनेर कसैले सोच्न सक्छ ? मेरो बस चल्थ्यो त त्यसलाई गालै गालामा चड्कन हानौं जस्तै भयो ।
आफूभन्दा सानोसँग बराबरी गर्न पनि नसुहाउने । न त चिच्याउन मिल्ने । आफ्नै विद्यार्थीलाई गर्ने के हो ? कसैलाई थाहा भयो भने मेरो के होला ? मेरो इज्जत माटोमा मिलाउने भयो यसले । यो पो केटाकेटी हो, सबैले मलाई नै दोष दिन्छन् ।
यस्तो पनि झेल्नुपर्ला भनेर मैले कहिल्यै सोचेकी थिइनँ । हामी त आफ्नो शिक्षकलाई कति आदर गथ्र्यौँ ।
मलाई डराएर बस्ने फुर्सदै थिएन । जुरुक्क उठेर त्यसलाई त्यहाँबाट निस्कन भनेँ ।
‘म छोड्दिनँ मिस हजुरलाई’ भन्दै पो निस्कियो ।
त्यो दिन काम नसकी कोठामा फर्किएँ । राति त ज्वरो आएछ ।
भोलिपल्ट बिरामी बिदा मागेर बसेँ ।
तर, मलाई फर्केर स्कुल जान मन लागेन । जागिर नगरी सुखै थिएन । तैपनि त्यो ठाउँमा फर्केर जान मन लागेन । एक हप्तापछि राजीनामा लेखेर इमेल गरिदिएँ ।
प्रिन्सिपल म्यामले के भयो, सेवा सुविधा, तलब पुगेन कि, हामीले केही भन्यौं कि ? दुई पक्ष मिलेर छलफल गरौँ, समस्या समाधान हुन्छ भन्नुभयो ।
समस्या अर्कै थियो । मैले बोल्नै सकिनँ ।