काठमाडौं —नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा चुनावमा नेकपा एमालेका लागि पनि केही सिट छुट्याउन सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार र बुधबार बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट छुट्याउन लचक देखिएका हुन् । राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ । त्यसका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
स्थानीय र प्रदेशका जनप्रतिनिधि अनुसार गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना बढी छ । सत्ताका प्रमुख दुई दल राष्ट्रिय सभामा एमालेका पनि केही सांसद जिताउने गरी तालमेल गर्न सकरात्मक देखिएका हुन् । दुई दल विच भएको सहमतिमा थप छलफल गर्न सत्ता घटकका एकीकृत समाजवादी र जनता समाजवादी कांग्रेस–माओवादीले छलफल गर्ने भएका छन् ।
कति सिट एमालेलाई छुट्याउने विषयमा भने छलफल पछि मात्रै टुंगिने कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले जानकारी दिए । ‘एमालेलाई पनि केही सिट छुट्याउनु पर्छ भन्नेमा दुई दल सकारात्मक बनेका छौं, जसपा र एकीकृत समाजवादीसँग पनि हामी विच भएको छलफल जानकारी गराउँछौं,’ ती नेताले भने, ‘एमालेलाई कति दिने कुरा गठबन्धनका अरु दल र एमालेसँगै छलफल गरेर टुंगिन्छ ।’
दिउँसो ३ बजे सत्ता गठबन्धनका चार दलको बैठक डाकिएको छ । साँझ ५ बजे सत्ता गठबन्धन र एमाले बीच बैठक हुने भएको छ ।