बाजुरा– खुलालु सल्लीसल्ला सडक आयोजना कार्यालयको शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कार्यालयकाे उद्धघाटन गरेका हुन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले कर्णाली करिडोर कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक विकास एवं समृद्धिको मेरुदण्ड भएको बताएका छन्। मन्त्री ज्जालाले कर्णालीका हुम्ला, कालीकोट र मुगुलाई बाजुरासम्म छिटो जोड्ने गरी पुल निर्माणका लागि ठेक्का भइसकेको बताए। सडक आयोजनाले सडक र पुल निर्माण व्यवस्थित हुँदै गएको बताउँदै मन्त्री ज्वालाले ठेक्का लागेका पुल निर्माण कार्य तीव्रगतिमा अगाडि बढेको बताए।
उनले कर्णाली करिडोरलाई चीनको हिल्सासम्म जोड्ने कार्य प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए। मन्त्री ज्वालाले भने, ‘कर्णाली करिडोर सडक निर्माणमा सहकार्य, हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन।’ सडक निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहले हातेमालो र सहकार्य गरेमा सहजरूपमा यातायात सञ्चालन हुने उनले बताए।
दीर्घकालीनरूपमा नेपाल र भारत जमुनाहा सिमानादेखि चीन र नेपालको सिमाना हिल्सासम्म सडक जोड्ने गरी कर्णाली करिडोरको योजना अघि आएको मन्त्री ज्वालाले दाबी गरे। ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रम्रणका बेला चीनको हिल्साबाट कर्णालीको प्रदेशको सिमीकोटसम्म चीन सरकारको अनुदानमा निर्माण गर्ने र सिमीकोटबाट सुर्खेतसम्म नेपाल सरकारले फास्टट्रयाक निर्माण गर्ने दीर्घकालीन कार्यक्रम रहेको छ’, उनले भने। उक्त सडक निर्माणका लागि रु ५७ अर्ब बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले जानकारी दिए।
कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्लालाई जोड्ने छ । यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार पुग्नेछ । कर्णाली करिडोर नामकरण गरी ट्र्याक खोल्न थालेको २१ वर्ष भएको छ ।
कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी छ सय ८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर मात्रै रहेको छ । कर्णालीवासीको आशाको केन्द्रका रूपमा रहेको कर्णाली करिडोर कालिकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेना जिम्मा एक सय ९६ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ ।
कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्ड फराकिलो बनाउन थालिएको छ । नेपाली सेनाले गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो । कालीकोट जिल्लामा पर्ने खुलालुदेखि लैफुसम्मको ४२ किलोमिटर सडक फराकिलो बनाउन थालिएको छ । करिडोरअन्तर्गतको ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र एक सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ । अहिलेसम्म कर्णाली करिडोर निर्माणमा एक अर्ब पाँच करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।